Logo

अन्तर्वार्ता

केन्द्र र प्रदेशले पालिकालाई आफूअनुकूल चलाउन खोज्दा समस्या : नगर प्रमुख सुवेदी



झापाको गौरादह नगरपालिका जिल्लाको कान्छो नगरपालिका हो । यस नगरमा केही सहरी बस्ती भए पनि अधिकांश क्षेत्र ग्रामिण नै छ । साविकको पाँच वटा गाविस मिलेर बनेको गौरादहमा यस पटक नेकपा एमालेबाट छत्रपति सुवेदीले निर्वाचन जितेका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा वडा नम्बर पाँचमा वडा अध्यक्ष बनेका सुवेदी यस पटक नगरपालिकाको अध्यक्षमा विजयी हुन सफल भएका हुन् ।

गौरादहलाई साँच्चिकै नगरपालिका जस्तो बनाउने एजेन्डा लिएर चुनाव जितेका उनले कस्ता—कस्ता योजनाहरु ल्याएका छन् ? निर्वाचित भएर आएपछि नगरपालिकाको कामकारबाही कसरी अगाडि बढेका छन् ? यी नै समग्र विषयमा नगर प्रमुख सुवेदीसँग अनलाइनपानाकर्मी रामनाथ कुँवरले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

गौरादह नगरपालिकामा कस्ता कार्यक्रम कसरी सञ्चालन भइरहेका छन् ? प्राथमिकतामा कस्ता योजना परेका छन् ?
हामी गौरादहमा निर्वाचित भएको तीन महिना पुग्यो । अहिलेसम्म हामीले कार्यक्रम बनाउन मै बढी समय खर्चिएका छौं । हामीले नगर सभा सम्पन्न गरेका छौं । नीति तथा योजना तयार बनाएका छौं । नगरपालिकामा अभाव रहेका ऐनहरु बनाएका छौं । आवधिक योजना बनाएका छौं । नगर अस्पताल सञ्चालन गर्न पूर्वाधार निर्माणमा हामी लागेका छौं । हामी आगामी वर्षमा नगर अस्पताल सञ्चालन गर्ने योजनामा छौं ।

त्यसैगरी हामीले प्राविधिक शिक्षाका लागि दुईवटा माध्यामिक विद्यालयलाई सिटिइभिटीबाट मान्यता लिएर प्राविधिक विद्यालय सञ्चालनमा जुटेका छौं । आईटी डिप्लोमा र बाली विज्ञान डिप्लोमाको हामी छिटै पढाइ सुरु गर्ने छौं । यो वर्षमा १३ किलोमिटर बाटोलाई कालोपत्रे गर्ने योजना बनाएका छौं । १९ वटा आरसिसी कल्बर्डहरु निर्माण गर्ने योजना छ । ती कामहरुको सर्भे गर्ने, डिजाइन गर्ने काम भइरहेका छन् । नगरपालिकामा दुईवटा सडक पुल बनाउन सर्भे गर्दै छौं । कालोपत्रे गर्ने बाटोहरुको पनि सर्भे डिजाइन गर्दै छौं । यस्तै कामहरु चल्दै छ ।

चालु आर्थिक वर्षमा कृषि क्षेत्रमा कस्ता कामहरु गर्ने योजना छ ?
हामीले कषि क्षेत्रमा खासगरी दुईखाले कामहरु गर्ने छौं । ससर्त अनुदानले तोकिएका कार्यक्रमहरुमा हामीले जैविक मल उत्पादन गर्ने कार्यक्रम राखेका छौं । सिचाइँको लागि पनि कार्यक्रम छ । महिला किसानहरुलाई यान्त्रिक उपकरण वितरणको कार्यक्रम पनि छ । बेमौसमी खेतीका लागि टनेल उप्लब्ध गराउने, किसानलाई तालिम दिने, पशुपालक किसानहरुलाई तालिम र गोठ सुधारका कार्यक्रहरु छन् । पशु र कृषिको प्राविधिक नभएकोले विज्ञापन निकालेका छौं । त्यसो हुनाले हामीले किसानहरुलाई तालिम दिने, औजार उपकरणहरु अनुदान दिने बिउबिजन उपलब्ध गराउने यस्तै कार्यक्रमहरु ल्याएका छौं ।

गौरादहले अब रोजगारी सृजना, युवा लक्षित कार्यक्रम र खेलकुदको क्षेत्रमा के के कामहरु गर्छ ?
हामीले दुई किसिमले रोजगारी दिने छौं । नगरपालिकामा विभिन्न कामहरु मार्फत र कृषि क्षेत्रबाटै रोजगारी सृजना गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने, दक्ष जनशक्ति उत्पादन गर्दा रोजगारी आफै प्राप्त हुन्छ भन्ने मेरो बुझाइ हो । त्यसो हुनाले हामीले विषेशगरी प्राविधिक शिक्षामा जोड दिने भनेका छौं । पाँच वर्ष भित्रमा कमसेकम सिभिल इन्जिनियरिङ, आईटी, भेटनरीलगायतमा जनशक्ति उत्पादन गर्दा रोजगारीको अवसर सृजना हुन्छ ।

स्थानीय सरकारले रोजगारीको वातावरण बनाउने हो । रोजगारीको सवालमा केन्द्र सरकारले मुख्य रुपमा पहल गर्नु पर्छ । त्यसैगरी हामीले खेल मैदान बनाउन, प्रशिक्षण गर्न र खेल सामाग्री प्रदान गर्ने योजना पनि बाएका छौं । त्यसैगरी महिला शिक्षालाई बढी जोड दिने गरी कामहरु हुँदै छ । यसरी हामीले युवा, रोजगार र खेलकुदका क्षेत्रको विकास गर्ने यस्ता योजनाहरु बनाउँदै र गर्दै जानेछौं ।

गौरादहको विकासमा तपाईंले देख्नुभएका चुनौतीहरु के के हुन् ?
हाम्रो गौरादह नगरपालिका झापा जिल्लाको सबैभन्दा कान्छो नगपालिका हो । यो २०७२ असोज १ गते स्थापना भएको हो । यो पाँच वटा गाउँ विकास समिति मिलेर बनेको हो । यहाँ सहरी क्षेत्र थोरै मात्रै छ । अरु सबै ग्रामिण भू–भाग हो । अब गौरादहलाई एउटा राम्रो नगर बनाउनतर्फ हाम्रो ध्यान केन्द्रित छ ।

यसमा चुनौतीहरु प्रशस्तै छन् । नगरपालिकाले दिने सेवा—सुविधाहरु मार्फत जनतालाई हामी नगरपालिकामा छौं है भन्ने बनाउने हो । त्यसो हुनाले हामीले, यातायात, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका सबै क्षेत्रलाई प्रथामिकता दिएर अगाडि बढ्नु पर्ने हुन्छ । एकै पटकमा सबै काम गर्न नसके पनि हामी नगरपालिकामा छौं भन्ने अनुभूति जनतालाई दिलाउने हो ।

पालिकाका जनप्रतिनिधिहरुले राजनीतिक स्वार्थमा काम गरे भन्ने सुनिन्छ । तपाईँ नगरपालिकामा समान रुपले काम गर्न र गराउन प्रतिबद्ध हुनुहुन्छ ?
गौरादह नगरपालिकामा यस अगाडि म एमालेबाट जितेर वडा अध्यक्ष थिएँ । पालिका अध्यक्ष कांगे्रसबाट जित्नुभएको थियो । तर हामीमाथि पूरै कार्यकाल कुनै किसिमको भेदभाव भएन । हामीले सहज रुपमा काम गर्न पायौं । अहिले पनि त्यस्तो पक्ष—विपक्ष भन्ने छैन । हाम्रो आन्तरिक स्रोत बलियो छेन । बजेट सीमित छ । मैले निार्वचन जित्ने बेलामै सबै साथीहरुलाई हामी जनताको साझा हौं । सबै एक भएर जानु पर्छ भनेको छु । हामी यसैगरी अगाडि बढीरहेका छौं/बढ्नेछौं ।

वडाध्यक्ष भएर जनप्रतिनिधि हुँदाको अनुभव बटुलिसक्नुभएको व्यक्ति तपाईं त, केन्द्र र प्रदेशमा सत्ता परिवर्तन हुँदा स्थानीय तहलाई चाहिँ कस्तो असर पर्दो रहेछ ?
केन्द्र र प्रदेशको सत्ता परिवर्तनले स्थानीय तहलाई साँडेको जुधाई, बाच्छाको मिचाई भने जस्तो हुँदो रहेछ । गत कार्यकालमा हामीलाई ठूलो धक्का लागेको छ । गत कार्यकालको सुरुमा नेकपाको सरकार थियो । त्यसले गौरादह नगरपालिकामा केही योजनाहरु पारेर काम सुरु गरेको थियो । पछि सरकार परिवर्तन भएर गठबन्धनको सरकार बनेपछि ती योजनाहरु कटौती गरीयो । बिचैमा बजेट रोक्का गरियो । नगरपालिकामा १४ वटा बाटो कालोपत्रे गर्ने योजना थिए । ती सबै बिचैमा बजेट फिर्ता हुँदा अलपत्र परे । यसरी केन्द्रबाट झापा जिल्लालाई विभेद्पूर्ण काम भयो ।

हामीले हाम्रो समस्या र आवश्यक्ता विधिवत् रुपमा केन्द्र र प्रदेशमा पुर्‍याउने हो । हामीले समन्वय गर्ने भन्दा पनि माग राख्ने हो । केन्द्र र प्रदेश सरकार विभेद्पूर्ण छन् । ती मागहरुमा कतिपय सम्बेधन हुन्छ, धेरै जासो हुँदैनन् । गोरादहमा निर्णय भएर आएको ३ करोडको योजना प्रदेश सरकारले फ्रिज गर्देको छ । एउटा पर्यटकीय योजनामा केन्द्रले बजेट पठाएको थियो । तर असारसम्म पनि टेन्डर ननिकालेर फ्रिज भयो । यसरी केन्द्र र प्रदेशले पालिकालाई आफ्नो अनुकूलता अनुसार चलाउन खोजेका छन् । अब निर्वाचन नजिक छ । निर्वाचन पछि कस्तो सरकार बन्छ । हामीले समन्वय गर्ने कुरा त्यसमा भर पर्छ । त्यसो हुनाले संघ र प्रदेशमा सत्ता परिवर्तन हुँदा स्थानीय सरकारलाई गम्भीर नकारात्मक प्रभाव पर्छ ।

पालिकामा भ्रष्टाचार मौलायो भनिएको छ । गौरादहमा यसलाई रोक्ने नीति कस्तो छ ?
भ्रष्टाचार दुई किसिमका हुन्छन्– नीतिगत र प्रत्यक्ष । हामीले नीति, नियम, कानुन, ऐनलाई हामीले बनायौं भने नीतिगत भ्रष्टचार रोकिन्छ । किनभने हामीले बनाएको ऐन, नियममा रहेर प्रक्रिया पुर्‍याएर काम गर्दा भ्रष्टाचार हुँदैन । प्रत्यक्ष भ्रष्टाचार भनेको नियन्त्रण गर्न केही गाह्रो हुँदो रहेछ । जनप्रतिनिधिहरु स्वच्छ र पारदर्शी हुनु पर्छ । कर्मचारीको क्रियाकलापलाई पनि अनुगमन गर्न सक्नुपर्छ ।

विषेशगरी निर्माण व्यवसायबाट पैसा असुल गर्ने काम रोक्नु पर्छ । अनुगमन र मूल्याङ्कनलाई कडाइ गरेर यसलाई रोक्न सकिन्छ । धेरै बेरुजु देखिने गरेको छ । लेखा परीक्षण गर्न आउने टोलीलाई पनि खुसी पार्नु पर्ने अवस्था छ । यस्ता समस्या धेरै पालिकाहरुमा छन् । तर बेरुजुलाई नै भ्रष्टचार भन्न मिल्दैन । हाम्रो गौरादहमा बेरुजु देखिएको छ, तर अहिलेसम्म भ्रष्टाचार भएको छैन । हामी भ्रष्टाचार त हुनै दिँदैनौं । अब बेरुजुलाई पनि कम गर्ने प्रयत्नमा छौं ।

गौरादहमा बाढी—पहिरोको अवस्था के छ ?
गौरादहको पश्चिमतिर रतुवा नदी रहेकोले बाढीको जोखिम धेरै छ । वडा नम्बर ५ र ६ बाढी प्रभावित क्षेत्र हो । रतुवा नदीले त्यहाँ तटबन्धन भत्काएर ठुलै क्षेती पनि गरेको छ । बस्तिमै पानी पसेको थियो । तर विस्थापित भने हुन परेन् । बालीमा पनि असर गरेको छ । त्यहाँ बोरामा बलुवा भरेर अस्थाई बाध बनाउने काम भइरहेको छ । अझै पनि बाढी आउने सम्भावना छ । यसमा हामीले केही दिर्घकालीन योजनाहरु पनि राखेकाछौं । जनताको तटबन्धन योजना, सिचाईँ मन्त्रालयका कार्यक्रमलगायतका कार्यक्रमहरु छन् । यो हाम्रो दिर्घकादिन समस्या हो । यसमा हामी सचेत छौं ।

अन्त्यमा थप केही भन्नु छ ?
भनेर मात्रै हुँदैन, हामी गरेर देखाउछौं । गौरादहवासीलाई मैले भन्ने गरेको छु, तपाईँहरु धैर्य गर्नुस्, काम अगाडि बढ्छ । हुने बिरुवाको चिल्लो पात भने झैँ हामीले सुरुवात राम्रो गरेका छौं । हाम्रा योजनाहरु पारदर्शी छन् । काम भएन भने फेरि छलफल गरौं । बसेर समीक्षा गरौं । तपाईँको मिडिया मार्फत म गौरादहवासीलाई यही निवेदन गर्छु ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार १९:०९   :  बजे

324
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।