सुर्खेत । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले पार्टीको आधिकारिक सभापति आफू नै रहेको दाबी गरेका छन् ।
आइतबार वीरेन्द्रनगरमा आयोजित देउवा पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले संविधान र पार्टीको विधानअनुसार आधिकारिकता आफूले नै पाउने बताएका हुन् ।
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि अर्को नयाँ साथी सभापति बन्नुहुन्छ,’ उनले भने ।
पार्टीको आधिकारिकतासम्बन्धी विवादमा न्यायालयप्रति पूर्ण विश्वास रहेको उल्लेख गर्दै देउवाले आधिकारिकता आफूहरूले नै पाउने दाबी गरे ।
‘न्यायालयप्रति मेरो पूर्ण विश्वास छ, हामीले नै पार्टीको आधिकारिकता पाउँछौँ,’ उनले भने ।
देउवाले आफू अब पुनः पार्टी सभापति र प्रधानमन्त्री नबन्ने पनि स्पष्ट पारे । मुलुकबाट आफूले लिनुपर्ने केही नरहेको बताउँदै उनले बाँचुन्जेल देशलाई सकेको योगदान गर्ने बताए ।
‘अब म फेरि न त पार्टी सभापति हुन्छु, न त प्रधानमन्त्री नै,’ देउवाले भने ।



















प्रतिक्रिया