काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे आज राष्ट्रिय सभाको बैठकमा जानकारी गराइँदै छ । दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको बैठकको सम्भावित कार्यसूची अनुसार बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको नागरिकता विधेयकका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराइने छ ।
संघीय संसदका दुवै सदनबाट पारित भई नागरिकता विधेयक साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै विधेयकलाई प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन् ।
फिर्ता भएको विधेयक प्रतिनिधिसभाबाट २ भदौमा हुबहु पारित भइसकेको छ । राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक संसदको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ ।
आइतबार राष्ट्रियसभामा फिर्ता विधेयकबारे जानकारी गराएपछि अर्को बैठकमा छलफल हुनेछ । विधेयक पुनः संघीय संसदबाट पारित भएर गएपछि राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानले फेरि पारित भएर प्रमाणीकरणका लागि गएको विधेयक फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई दिएको छैन ।




















प्रतिक्रिया