Logo

अन्तर्वार्ता

प्रविधिमैत्री विद्यालय र गुणस्तरिय शिक्षा नै हाम्रो पहिलो प्राथमिकता : नगर प्रमुख वादी



कर्णाली प्रदेशको रुकुम पश्चिमदेखि १६ कोष पश्चिम दक्षिणमा पर्ने हिमाल पहाड र तराईको झल्को दिने नगरपालिका चौरजहारी । जहाँ समथर उपत्यका, टाकुरा र अग्ला चुचुराहरु छन् । ३१ वैशाखको निर्वाचनपछि यस नगरले पनि नयाँ नेतृत्व पाएको छ । पालिकामा नयाँ नेतृत्वले धमाधम सुरु गरिसकेको छ ।

चौरजहारी नगरपालिकाले पनि अन्य पालकालेझैँ अधिकांश अघिल्लो कार्यकालको सरकारले सुरु गरेका योजनाहरुलाई निरन्तरता दिएको छ भने केही नयाँ योजनाको सुरुवात पनि गरेका छ । यसमध्ये पनि चौरजहारीले यो आर्थिक वर्षमा शिक्षालाई पहिलो प्राथमिकतामा राखेर अन्य विकासे गतिविधिहरु सुरु गरेको बताएको छ । नगरपालिकाको समग्र कामकारबाहीबारे प्रमुख पुष्प वादीसँग अनलाइनपानाकर्मी रामनाथ कुँवरले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

चौरजहारी नगरपालिकामा समग्र विकासे गतिविधिहरुलाई कसरी अगाडि बढाउनुभएको छ ?
हामी निर्वाचित भएर आएको तीन महिना पूरा भएको छ । हामीले कार्यभार सम्हालेपछि नीति तथा कार्यक्रम बनाएर २०७९÷८० को बजेट पारित गरियो । अहिले हामी पूर्वाधार निर्माणका काम प्रारम्भ गरेका छौं । कतिपय योजनाहरुको ठेक्का प्रक्रिया सुरु भएको छ । त्यस्तै कतिपय योजनाहरु उपभोक्ता समितिमार्फत हुने भएकोले, उपभोक्ता समिति गठन प्रक्रिया सुरु भएको छ । आगामी योजनाहरुको समयमै भुक्तानी दिन, उभोक्ताहरुलाई अन्तिममा गएर हैरानी नहोस् भनेर, योजनाहरु समयमा सम्पन्न होस् भनेर हामी यसलाई सहज बनाउन पहल गरिरहेका छौं ।

यो आर्थिक वर्षमा हामीले शिक्षा, उत्पादन, रोजगारी र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट बनाएका छौं । धेरै कुराहरु नियमित हुने कामहरुमा पर्छन् । हामीले उत्पादन र रोजगारीमार्फत कृषि क्षेत्रको विकास गर्ने योजना बनाएका छौं । उत्पादनमा प्रोत्साहन गर्ने, वास्तविक किसानहरुलाई नगरपालिकाले केही लगानी गरिदिने हिसाबले हामीले कृषि र पशुपलनमा योजनाहरु बनाएका छौं । खासमा विकास भनेको निरन्तर भइरहने कुरा हो । त्यसमा हामीले तत्कालको आवश्यक्ता र गतिशिलतालाई ध्यानमा राखेर काम गर्नु पर्छ, भन्नेमा हामी छौं ।

पालिकाका धेरै विद्यालयहरुमा भौतिक पूर्वाधार राम्रो छ । यस वर्ष हामीले दुई वटा विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेका छौं । त्यसैगरी पालिकाको सबै विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई पोशाक र कापी कलम निःशुल्क वितरण गरेका छौं । प्रविधिमैत्री विद्यालय र शिक्षामा गुणस्तर ल्याउनका लागि हामीले शिक्षा क्षेत्रमा विभिन्न योजनाहरु ल्याएका छौं । सबै विद्यालयलाई प्रविधिमैन्त्री बनाउने हाम्रो योजना छ । त्यसैगरी शिक्षालाई गुणस्तरीय बनाउन पनि हाम्रो पहल छ ।

चौरजहारी नगरपालिकामा बाढी पहिरोको जोखि कस्तो छ ? त्यस विरुद्ध नगरपालिकाले के कस्ता भूमिका खेलिरहेको छ ?
हाम्रो नगरपालिका हिमाल, पहाड र तराई तीनै किसिमको भुगोलबाट बनेको छ । यहाँको वडा नम्बर १, २ र ३ भ्याली पर्छ भने अन्य वडाहरु पहाड र हिमाली क्षेत्रमा पनि पर्छन् । यो बर्खाको बाढी पहिरोले गर्दा ५÷६ वटा घरहरु भत्किएका छन् । त्यसमा हामीले राहतहरु दिन जिल्ला प्रशासनमार्फत पठाएका छौं । ती पहिरो पीडितहरुको घर बनाइदिने निर्णय गरेका छौं । तत्कालै आवश्यक पर्ने सामग्रीहरु दिसकेका छौं । अन्य ठूलै जोखिम खासै छैन ।

चौरजहारीको विकासका लागि केन्द्र र प्रदेश सरकारसँग कसरी समन्वय गर्दै गर्नुहुन्छ ?
जनताको आधारभुत कामहरु स्थानीय सरकारले गर्न पाउनु पर्छ भनेर हामीले माथिका सरकारहरुमा कुरा राखेका छौं । प्रदेश र केन्द्र सरकारले ठूला आयोजनाहरुमा बजेट हाल्नु पर्छ । सबैसँग सहकार्य गरेर जनताको जीवनस्तर बदल्न हामी लागि पर्ने छौं । हामीले उत्पादन, रोजगारी र सामाजिक रुपान्तर गर्न हामी एक भएर जाने छौं । त्यसो हुनाले हामीले प्रदेश सरकार र संघलाई सुझावहरु पनि दिएका छौं र मागहरु पनि राखेका छौं ।

चौरजहारीको विकास र समृद्धिमा मुख्य चुनौती चाहिँ के के रहेछन् ?
हाम्रो नगरपालिकामा विद्यालय अनुसारको दरबन्दी छैन । यो शिक्षा क्षेत्रको मुख्य चुनौती हो । स्वास्थ्यमा त्यस्तै समस्या छ । यस्ता समस्या केन्द्र सरकारले छिट्टै समाधान गर्नु पर्छ । स्थानीय सरकारलाई बजेट पनि कम र अधिकार पनि कम भएको छ । जनताको जीवनस्तर सुधार्न र जनतालाई सभ्य र सुसंस्कृत बनाउनु पनि स्थानीय तहका लागि चुनौतीको विषय हो ।

चौरजहारीमा यस अघिको कार्यकालमा कतिको उपलब्धिहरु भएका रहेछन् ?
हाम्रो नगरपालिकाको अघिल्लो सरकारले पनि कार्यकाल सफल रुपमा नै बिताएको छ । किनभने हामीले योजनाहरुमा धेरै योजनाहरु उहाँहरुले सुरु गरेकालाई नै निरन्तरता दिएका छौं । राम्रा कामहरुको सुरुवात भएका रहेछन् । अहिले हामीले ४ वटा नगर एम्बुलेन्स सञ्चालन गरेका छौं । नगर बस सञ्चालन गरेका छौं । यो काम पहिलो कार्यकालमा नै सुरु भएको हो । हामीले निरन्तरता दिएका हौं । अघिल्लो सरकारले नगरपालिकामा ८० प्रतिशत खानेपानीको काम गरेसकेको छ । हामी बाँकी २० प्रतिशत काम पुरा गर्न लागेका छौं । पहिलो कार्यकालमा रामै काम भएको जनताले पनि महसुस गर्नु भएको छ ।

चौरजहारीको विकासमा जनसहभागीता कसरी गराउनुहुन्छ ?
हामीले योजना छनोट नै जनताको सुझाव अनुसार गर्छौं । पहिलो वर्षमा समेट्न नसकेको कामहरु अर्को वर्ष समेटिने भनेर हामीले जनतासँग छलफल गरेका छौं । सबै आयोजनाहरुको जनताले निगरानी गर्नु पर्छ भनेर हामीले सबैलाई भनेका छौं । आयोजना लक्ष्य अनुसार भयो या भएन भनेर जनताले नगरपालिकालाई जानकारी गराइदिनुस्, भनेका छौं । सरकारलाई सुझाव दिने र काम राम्रो नभएमा सजग गराउन पनि हामीले आग्रह गरेका छौं । यसरी हामी नगरपालिकाले गर्ने सबै काममा जनताको सहभागिता गराउने छौं । पूरै कार्यकाल जनतासँग हातेमालो गरेर काम गर्ने हाम्रो योजना छ ।

नगरपालिकामा अनियमितता हुन नदिन के गर्नुहुन्छ ?
हामीले अनियमितता हुन नदिन गाउँगाउँमा अनुगमन समितिको गठन गरेका छौं । नगरकै मातहतमा पनि अनुगम समिति छ । सबै वडामा हामीले गरेका कामको हामी सार्वजनिक सुनुवाइ गछौं । सुनुवाइमा जनताले उठाएका कुराको हामी छनबिन गर्ने छौं । यदि गलत भएको रहेछ भने दण्ड र राम्रो काम गरेकालाई पुरस्कृत पनि गर्ने छौं । नगरपालिकाले गर्ने हरेक काम नियम र प्रक्रियामा टेकेर गर्ने छौं ।

थप केहि भन्नु छ ?
हामीले नगरवासीलाई भन्नै पर्ने कुरा के छ भने, आफ्नो गाउँ टोलमा भएका योजनाहरु कसरी भइरहेका छन्, हेर्ने, बुझ्ने र सरकारलाई सल्लाह सुझाव दिन जरुरी छ । तपाईँ जनताले नै तिरेको करबाट भएको विकास हो । यसमा सबैले चासो राखेर अगाडि बढ्नु पर्छ । गलत प्रवृत्तिलाई निरुत्साहित र राम्रो गर्नेलाई सघाउन आग्रह गर्छु ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार १८:१७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।