Logo

समाचार

मुसीकोटमा रेबिज आतङ्क



रुकुमपश्चिम । रुकुमपश्चिममा बौलाहा कुकुरले टोकेका जनावर मर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । भदौ ११ गते बौलाहा कुकुरको टोकाइबाट घाइते भएका पशुचौपाया मर्न थालेपछि मुसीकोट नगरपालिका–१० मा बोलाहा कुकुर र रेबिजको आतङ्कले स्थानीय बासिन्दा त्रसित भएका हुन् ।

बौलाहा कुकुरको टोकाइबाट घाइते भएका दुईवटा गोरु, एउटा गाई, एउटा भैँसी, एउटा पाडो र चारवटा कुकुर मरेको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिए । अझै केही पशुचौपाया बिरामी अवस्थामा रहेका छन् । कुकुरको टोकाइबाट स्थानीय मनसुवा रोकाया र टेकबहादुर बुढाथोकी घाइते भएका थिए । उनीहरूको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको वडाध्यक्ष खड्काले जानकारी दिए ।

पशुचौपाया मरेपछि त्रसित बनेका स्थानीयवासीलाई वडा कार्यालयको पहलमा स्वास्थ्य सेवा कार्यालयसम्म ल्याएर रेबिज रोगसम्बन्धी सचेत बनाइएको छ । स्वास्थ्य सेवा कार्यालयमा जिल्ला अस्पतालमा कार्यरत डाक्टरले रेबिज रोगका बारेमा जानकारी गराएको बताइएको छ । रेबिज रोगको आशङ्का लागेका गाउँलेलाई रेबिज रोगसम्बन्धी जानकारी गराउनुका साथै नआत्तिन र सतर्क रहन आग्रह गरेको जिल्ला अस्पतालका डा. भीमकान्त जैसीले बताए । सचेतनापछि नौ जनालाई रेबिजविरुद्धको भ्याक्सिनसमेत लगाइएको छ । कुकुरले नटोके पनि कुकुरले टोकेका पशुको सम्पर्कमा रहेका नौ जनाले भ्याक्सिन लगाएको डा. जैसीले जानकारी दिए ।

मुसीकोट नगरपालिका नगर पशु सेवा शाखाले वडा नम्बर १० मा सोमबार रेबिजविरुद्धको खोप शिविर सञ्चालन गरेको छ । रेबिजको सङ्क्रमण थप नफैलियोस् भनेर गाउँमा रहेका सबै कुकुर र सङ्क्रमित कुकुरले टोकेका पशुचौपाया रहेको घरका अन्य सबै पशुलाई खोप लगाउने गरी रेबिज खोप शिविर सञ्चालन गरिएको वडाध्यक्ष खड्काले बताए । गोरखापत्रमा समाचार छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार ०९:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।