Logo

पत्रपत्रिका

सयौं रोपनीको धानबाली सुकेर परालजस्तै



अन्न भण्डार मानिने माडी, रामपुर फाँट, अर्गली र कचल कालीगण्डकी तटीय क्षेत्रका फाँटमा लगाइएको धान बालीमा फड्के कीराको प्रकोप

पाल्पा । रामपुर नगरपालिका–५ की हरिमाया गौतमको खेतमा लगाएको ७० प्रतिशतभन्दा बढी धान रोगले सकिन लागेको छ । फूल खेल्ने बेलादेखि नै धानमा रोग देखापरेको हो । रोगका विषयमा नजिकको रामपुर नगरपालिकास्थित कृषि शाखामा जानकारी गराए पनि वास्ता नगरेको उनले सुनाइन् । ‘गत वर्ष ८०/९० मुरी धान भित्र्याएकी हुँ,’ उनले भनिन्, ‘यस वर्ष १० मुरी पनि फल्छ कि फल्दैन भन्ने चिन्ता लागेको छ ।’

जिल्लाका अन्न भण्डार मानिने माडी, रामपुर फाँट, अर्गली, कचल कालीगण्डकी तटीय क्षेत्रका फाँटमा धान बालीमा फड्के कीराको प्रकोप देखिएको हो ।

रामपुर नगरपालिका–५ कै अम्बिका डोटेल पनि धानमा लागेको रोगले चिन्तित छन् । उनको खेतमा लगाएको धान रातै र पहेँलै भएको छ । बीचबीचमा धान सुकेर परालजस्तै बनेको छ । फड्के कीराले धानको बाला चुसेर बाला लागेको धान पनि भुसजस्तै भएको छ । ‘यस वर्ष धान खेती बर्बादै भयो,’ उनले भनिन्, ‘नगरपालिकाले धानको बीउ दियो भनेर खुसी भइयो । तीन महिना पनि त्यो खुसी टिकेन ।’

रामपुर नगरपालिकाले संघीय सरकारको सहयोगमा रामपुरको घरसंसार वितरक फार्मबाट धानको बीउ वितरण गरेको हो । सोहीअनुसार ७८ रुपैयाँ किलोको बीउ ५० प्रतिशत छुटमा ३९ मा बिक्री गरेको थियो । ‘अनुदानको बीउ सहकारी, समूह र किसान सोझै पनि खरिद गरेर लगेका थिए,’ कृषि शाखा प्रमुख रामहरि पाण्डेयले भने ।

रामपुर नगरपालिकाका अनुसार रामपुर नगरभित्र २० टन सावित्री, साढे चार टन सावा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी करिब २६ टन बीउ वितरण गरिएको थियो । संघीय सरकारको ससर्त अनुदान कार्यक्रमअन्तर्गत उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागका आधारमा सावित्री र साँवा मन्सुली जातको बीउ ल्याइएको थियो । त्यही बीउ रोपेका किसान अहिले भने धान भित्र्याउनै नपाउने हो कि भन्ने त्रासमा छन् ।

‘भित्र्याउने बेला हुन लागेको धानमा फड्के कीराले सताएपछि के गर्ने भन्ने भएको छ,’ रामपुर नगरपालिका–५ का किसान ज्यामबहादुर रानाले भने, ‘२० वर्षदेखि धान खेती गर्दै आएको छु । तर अहिलेसम्म यस्तो रोग लागेको कहिल्यै देखेको थिइनँ ।’ बीउकै समस्याका कारण यस्तो भएको उनको दाबी छ । गतिलो बीउ नपर्दा समस्या थपिएको उनले बताए ।

पाल्पाको सयौं हेक्टरमा लगाएको धानबालीमा फड्के कीराले नोक्सानी पुगेको छ । रोपाइँका बेला सिंचाइ र रासायनिक मलको अभाव खेपेका किसान फूल खेल्दै गरेका र बाला लाग्ने बेलामा देखिएको महामारीले धान उत्पादन घट्ने चिन्ताले यहाँका किसानलाई सताएको छ । धानको बालासहितको बोट लिएर कृषि प्राविधिकसँग पुगे पनि समस्याको समाधान आएको छैन । फूल खेल्दै गर्दा धान पहेँलो हुँदै गएको छ । बोट कमजोर हुँदै जाँदा राम्रोसँग दाना नै बसेको छैन ।

अहिले धानका धेरैजसो बोट मर्दै गएका छन् । लटरम्म बाला लागेर बोट नुग्ने बेला धानको बाला माथितिर फर्किएको र बोट रातै भएको किसानको गुनासो छ ।

धानबाली पहेँलो बनाउने, फेद कुहेर बोटमा धानको बाला नलाग्ने, लागेको बालामा दाना नहुने समस्या यहाँका धेरै फाँटमा देखिएको छ । ‘प्रकोप फैलिएको जानकारी कृषि ज्ञान केन्द्रमा पनि आएको छ,’ कृषि ज्ञान केन्द्रका कृषिविज्ञ मिलन गैरेले भने, ‘यसबारे सचेत हुन र प्राविधिकको सल्लाहमा औषधि राख्न आग्रह गरेका छौं ।’

विगतमा चैते धान बालीमा सुरुमा देखिएको कीराको प्रकोप अहिले पुनः फैलिएको हो । धानको गाँजमा फड्के कीरा बसेर चुस्न थालेपछि बोट पहेँलो हुँदै जाने र मर्ने गरेको कृषि प्राविधिकको भनाइ छ । फड्के कीरा उफ्रेर र उडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने भएकाले धान बाली बढी जोखिममा परेको छ । विगतका वर्षमा पनि फड्के कीराको सामान्य समस्या देखिए पनि यसपल्ट महामारीका रूपमा फैलिएकाले आगामी दिनमा यस्ता समस्या समाधानका लागि ध्यान दिनुपर्ने रामपुरका किसान लेखनाथ रेग्मीले बताए । पाल्पामा खेतीयोग्य जग्गामध्ये ८ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्रका प्रसार अधिकृत रामसुरत पालले जानकारी दिए । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार ०७:२७   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।