काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरुले गर्न पाउने खर्चको सीमा तोकेको छ । जसअनुसार आसन्न निर्वाचनमा दलहरुले अधिकतम ५ करोड ५० लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।
दलहरुको समानुपातिकतर्फको बन्दसूचीको आधारमा आयोगले खर्चसीमा निर्धारण गरेको हो । कुनै एक दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ एउटा उम्मेदवार बराबर २ लाख र प्रदेश समानुपातिकतर्फ १ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छ ।
यसअनुसार प्रतिनिधिसभातर्फ १ सय १० जना समानुपातिक उम्मेदवारको सूची बुझाउने दलले २ करोड २० लाख रुपैयाँ खर्च गर्न पाउने छ । प्रदेश समानुपातिकतर्फ दलहरूले अधिकतम २२० जनासम्मको नाम बुझाएका छन् । त्यस आधारमा कुनै एक दलले ३ करोड ३० लाख रुपैयाँ प्रदेश समानुपातिकतर्फ खर्च गर्न पाउनेछ ।
यसअघि प्रत्यक्षतर्फका उम्मेदवारको खर्च सीमा तोकिसकेको छ । २५ देखि ३३ लाख प्रतिनिधसभातर्फ र प्रदेशसभाका प्रत्यक्ष उम्मेदवारले १५ देखि २३ लाख रुपैयाँ खर्च सीमा निर्धारण गरिसकेको छ ।




















प्रतिक्रिया