काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा जाँदै छन् । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा सम्पन्न निर्वाचनबाट भारी मतसहित निर्वाचित प्रधानमन्त्रीको भारत भ्रमणलाई राजनीतिक वृत्तदेखि आम नागरिकसम्म चासोका साथ हेरिएको छ ।
फरक राजनीतिक पृष्ठभूमिबाट उदाएका युवा प्रधानमन्त्री शाहको भारत भ्रमणलाई केवल औपचारिक कूटनीतिक भ्रमणका रूपमा मात्र हेरिएको छैन । यसलाई नेपालको बदलिँदो राजनीतिक परिस्थिति, नयाँ सरकारको विदेश नीति र नेपाल–भारत सम्बन्धले लिने आगामी दिशासँग जोडेर विश्लेषण गर्न थालिएको छ ।
परम्परागत राजनीतिक दलभन्दा फरक शैली र कार्यशैलीका कारण चर्चामा रहेका प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा कस्ता एजेन्डालाई प्राथमिकता दिनेछन् भन्ने विषय अहिले चासोको केन्द्रमा छ ।
यसै संर्दभमा नेपाल न्यूज बैंकसँगको संवादमा चीनका लागि नेपालका पूर्वराजदूत लिलामणि पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका विषयहरू स्पष्ट रूपमा उठाउनुपर्ने बताए ।
नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई सकारात्मक रूपमा लिएको बताए । उनले दुई देशबीचको सम्बन्धलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
उनले प्रधानमन्त्रीको भारत भ्रमण केवल दुई देशका सरकार प्रमुखबीच चिनजान र भेटघाटमा मात्र सीमित हुन नहुने बताए । विगतमा भएका सन्धि, सम्झौता तथा समझदारी, सीमा विवाद र आर्थिक मुद्दालगायतका विषयमा गम्भीर छलफल हुनुपर्ने उनले बताए ।
पौडेलले प्रधानमन्त्रीले नेपालको असंलग्न परराष्ट्र नीतिको सिद्धान्तभित्र रहेर स्वतन्त्र र सार्वभौम मुलुकको प्रतिनिधिका रूपमा राष्ट्रिय हित प्रवद्र्धन गर्नेगरी आफ्नो धारणा राख्नुपर्ने बताए ।
‘हाम्रो जुन असंलग्न परराष्ट्र नीति हो, त्यो नीतिको सिद्धान्त भित्र बसेर एउटा स्वतन्त्र सार्वभौम मुलुकको प्रधानमन्त्रीको हैसियतले एउटा नेपालको राष्ट्रिय हित सम्बर्धन हुने हिसाबले नेपालको आफ्नो प्रस्तुतिहरु दिनका लागि उहाँलाई सल्लाह दिन्छु,’ उनले भने, ‘बलियो सरकार भएको हुनाले उहाँले नेपालका राष्ट्रिय मुद्दाहरु उठाउनका लागि उहाँले जुन जनसमर्थन पाएर चुनिएर आउनुभएको छ ।
त्यसैको आडमा उहाँले चाहिं राष्ट्रिय मुद्दाहरु उठाउनका लागि कुनै किसिमको संकोच मान्नुपर्छ जस्तो मलाई लाग्दैन । आफ्नो राष्ट्रको हितका विषयहरु उठाउँदाखेरि छिमेकी मित्र राष्ट्रहरुले पनि त्यसलाई अन्यथा लिने कुराहरु आउँदैन । ती मुद्दाहरुलाई उहाँलें स्पष्ट ढंगले राख्नुपर्छ ।’
बलियो जनसमर्थनसहित निर्वाचित सरकारका प्रधानमन्त्रीले राष्ट्रिय मुद्दा उठाउन कुनै संकोच मान्नुपर्ने अवस्था नरहेको उल्लेख गरे ।
पूर्वराजदूत पौडेलले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा राष्ट्रिय हित र परराष्ट्र नीतिका विषयमा स्पष्ट अडान राख्न सुझाव दिए । उनले विगतका सरकारहरू गठबन्धनमा आधारित हुने, प्रधानमन्त्रीको दलको जनाधार र सरकारको स्थायित्व कमजोर हुने अवस्थाका कारण अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको अडान स्पष्ट रूपमा प्रस्तुत हुन नसकेको बताए ।
प्रधानमन्त्रीले भने आफ्नो भ्रमणका क्रममा राष्ट्रिय मुद्दाहरू स्पष्ट रूपमा उठाउन सक्नुपर्ने उनको भनाइ छ । पूर्वराजदूत पौडेलले नेपालको हवाई क्षेत्र विदेशी सैन्य प्रयोजनका लागि प्रयोग गर्न दिनुपर्ने विषयमा बाहिर विभिन्न चर्चा भइरहेको उल्लेख गर्दै त्यसप्रति संवेदनशील हुनुपर्ने बताए ।
नेपालको असंलग्न परराष्ट्र नीतिले नेपाली भूमिलाई कुनै पनि विदेशी शक्तिको सैन्य प्रयोजनका लागि प्रयोग गर्न अनुमति नदिने उनले बताए । नेपालको आकाश नागरिक उड्डयन तथा व्यावसायिक प्रयोजनका लागि भने सधैँ खुला रहेको भन्दै उनले सैन्य प्रयोजन र नागरिक उड्डयनबीच स्पष्ट भिन्नता राखेर कूटनीतिक संवाद गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, भारतसँगको उच्चस्तरीय भेटवार्तामा प्रधानमन्त्रीले एक्लाएक्लै (वान टु वान) बैठक गर्दा विशेष सावधानी अपनाउनुपर्ने पौडेलको सुझाव छ । उनका अनुसार भारतीय पक्षले यस्ता भेटमा आफ्ना सहयोगी वा अधिकारी राख्ने अथवा नराख्ने भए पनि राष्ट्रिय मुद्दामा आफ्नो अडान स्पष्ट पारेर बस्ने गरेको छ । तर नेपाली नेतृत्वले भने कतिपय अवस्थामा राष्ट्रिय मुद्दाभन्दा व्यक्तिगत वा दलगत सम्बन्धलाई प्राथमिकता दिँदै प्रतिबद्धता व्यक्त गर्ने गरेको उनले बताए ।
उनले विगतमा नेपालका नेताहरूले भारत वा चीनका उच्च नेतृत्वसँगको व्यक्तिगत भेटमा राष्ट्रिय मुद्दाका विवादित विषयमा व्यक्तिगत धारणा व्यक्त गर्ने र प्रतिबद्धता जनाउने तर स्वदेश फर्किएपछि ती प्रतिबद्धता कार्यान्वयन गर्न नसक्ने अवस्था देखिएको बताए । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको विश्वसनीयतामाथि प्रश्न उठ्नुका साथै नेताहरूको कमजोरीको क्षति मुलुकले बेहोर्नुपरेको उनको भनाइ छ ।
पूर्वराजदूत पौडेलले प्रधानमन्त्री शाहलाई भारतीय नेतृत्वसँग एक्लाएक्लै भेट्नैपर्ने अवस्था भए पनि परराष्ट्र मन्त्रालयका अधिकारीहरूलाई साथमा राखेर छलफल गर्न सुझाव दिए ।
‘एक्लाएक्लै भेट्दा पनि परराष्ट्र अधिकारीहरूलाई सँगै राखेर भेट्नुपर्छ । कुन विषयमा के कुरा राख्ने भन्नेमा प्रधानमन्त्री पूर्ण तयारीका साथ जानुपर्छ,’ उनले भने, ‘अर्को पक्षबाट कुनै प्रस्ताव आएमा नेपालमा छलफल नगरी त्यहीँ तत्काल प्रतिबद्धता जनाउनु हुँदैन ।’
त्यस्तै, भेटवार्तामा उठाउने विषय, नेपालको आधिकारिक धारणा र राष्ट्रिय अडानबारे प्रधानमन्त्रीले पहिले नै पर्याप्त तयारी गर्नुपर्ने उनले बताए ।
उनले अर्को पक्षबाट कुनै नयाँ प्रस्ताव आएमा तत्काल व्यक्तिगत रूपमा प्रतिबद्धता जनाउनुभन्दा त्यसबारे स्वदेश फर्किएर सम्बन्धित निकायसँग छलफल गरेपछि मात्रै निर्णय लिनुपर्ने बताए ।
पौडेलका अनुसार प्रधानमन्त्रीको विदेश भ्रमण व्यक्तिगत सम्बन्ध विस्तार गर्ने अवसर मात्र नभई राष्ट्रिय हित र नेपालको कूटनीतिक विश्वसनीयता स्थापित गर्ने महत्वपूर्ण अवसर हो ।
उनले भारतविरोधी भावनाबारे भइरहेको बहसलाई पनि ऐतिहासिक र राजनीतिक पृष्ठभूमिबाट बुझ्नुपर्ने धारणा राखे । नेपालको आन्तरिक राजनीतिमा विभिन्न कालखण्डमा भारतको देखिने गरी हस्तक्षेप भएको आरोप तथा जलस्रोतसम्बन्धी सन्धि–सम्झौताबाट नेपालले अपेक्षित लाभ लिन नसकेको जनधारणाले असन्तुष्टि सिर्जना गरेको उनको भनाइ छ ।
विशेषगरी २००७ सालको आन्दोलन, २०१७ सालपछि पञ्चायती व्यवस्थाविरुद्धका गतिविधि, २०४६ सालको जनआन्दोलन तथा माओवादी आन्दोलनका क्रममा भारतको भूमिकालाई लिएर नेपाली समाजमा विभिन्न धारणा बनेको उनले उल्लेख गरे ।
नेपाल र भारतबीच जनस्तरको सम्बन्ध भने निकै बलियो रहेको पौडेलले बताए । वैवाहिक, सांस्कृतिक, धार्मिक तथा आर्थिक सम्बन्धले दुई देशका नागरिकलाई नजिक बनाएको उल्लेख गर्दै उनले भारतमा नेपाली र नेपालमा भारतीय नागरिकको आवतजावत तथा रोजगारीको सम्बन्धलाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गरे ।
उनले भारतसँगका कतिपय विषयमा हुने असहमति र आलोचनालाई समग्र रूपमा भारतविरोधी भावनाका रूपमा व्याख्या गर्न नहुने बताए । उनका अनुसार कुनै पनि मुलुकसँगको सम्बन्धमा अनुचित वा असन्तुलित व्यवहार भए त्यसको विरोध गर्नु स्वाभाविक हो ।
यसैबीच, केही समयअघि नेपालका अर्थमन्त्रीले भारत भ्रमणका क्रममा नेपालमा भारतविरोधी युग समाप्त भएको आशयको अभिव्यक्ति दिएको विषयप्रति पनि पौडेलले असन्तुष्टि जनाए । सार्वभौम मुलुकको जिम्मेवार मन्त्रीले विदेशमा गएर राष्ट्रिय स्वार्थ र जनभावनासँग जोडिएका विषयलाई हल्का रूपमा प्रस्तुत गर्न नहुने उनको भनाइ छ ।
‘एउटा सार्वभौम मुलुकको मन्त्रीले विदेशमा गएर त्यस्तो अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण हो । राष्ट्रिय स्वार्थसँग जोडिएका विषयमा आधिकारिक व्यक्तिहरूले बोल्दा धेरै विचार पु¥याउनुपर्छ,’ उनले भने ।
प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचका विद्यमान मुद्दामा संवाद र समाधानको बाटो खोल्नुपर्ने उल्लेख गर्दै पौडेलले नेपालको राष्ट्रिय हित प्रवद्र्धन हुने गरी स्पष्ट अडान राख्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
उनले प्रधानमन्त्रीलाई राष्ट्रिय मुद्दा प्रभावकारी रूपमा उठाएर नेपाली जनताको शिर उँचो हुने गरी भ्रमण सफल बनाउन शुभकामना समेत दिए ।




















प्रतिक्रिया