काठमाडौं । शान्तिपुर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन देशैभरि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालनको तयारी रहेको नेपाल प्रहरीले जनाएको छ। आगामी निर्वाचनलाई दृष्टिगत गर्दै सातवटै प्रदेशमा १ लाख ८६ हजार ६९३ जना सुरक्षा जनशक्ति परिचालनको तयारी रहेको प्रहरीले जनाएको हो। एकीकृत सुरक्षा योजना बमोजिम नेपाल प्रहरीसँगै १ लाख १५ हजारको संख्यामा म्यादी प्रहरी समेत परिचालन गर्ने योजना रहेको बताईएको छ।
जसअन्तर्गत प्रदेश १ मा १९ हजार ९६३, मधेश प्रदेशमा २३ हजार ७७१, बागमतीमा १९ हजार ६७८, गण्डकीमा १२ हजार ३४०, लुम्बिनीमा १८ हजार ६११, कर्णालीमा ९ हजार ७८ र सुदुरपश्चिम प्रदेशमा ११ हजार ५५९ जना म्यादी प्रहरी परिचालनको पूर्वतयारी रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईले बताए। उनले सुरक्षा संवेदनशीलताको आधारमा विभिन्न मतदान केन्द्रमा प्रहरी जनशक्ति खटाईने जानकारी दिए। उनले भने, ‘प्रहरीको टोलीले मतदान केन्द्रको सुरक्षाका साथै संवेदनशील भनी पहिचान गरिएका क्षेत्रहरूमा आवश्यक निगरानी र कडाई गर्नेछन्। त्यसका लागि निर्वाचन सेल र कमाण्ड पोस्ट समेत गठन गरिएको छ।’
मंसिर ४ मा हुने निर्वाचनलाई भयरहित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउन नेपाली सेनाको हवाई गस्तीको पनि प्रबन्ध मिलाईएको प्रहरीले जनाएको छ। भौगोलिक रुपमा विकट, सञ्चार/प्रविधिको सहज पहुँच नभएको र भारतसँग सीमाना जोडिएका स्थानीय तहका मतदान स्थलहरूलाई प्रहरीले विगतमा घटेका विभिन्न घटनाहरूको आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य भनी पहिचान गरेको छ। ७७ वटै जिल्लाका २२ हजार २२७ मतदान केन्द्रमध्ये ३०६५ मतदान केन्द्रलाई प्रहरीले अति संवेदनशील र ४ हजार ४७८ मतदान केन्द्रलाई संवेदनशील भनी पहिचान गरेको छ। बाँकी रहेका अन्य सबै मतदान केन्द्र प्रहरीको सामान्यको सुचीमा छ। अति संवेदनशील भनी पहिचान गरिएका मतदान केन्द्रमा बाक्लो संख्या सुरक्षा जनशक्ति परिचालन र हवाई गस्तीको समेत प्रबन्ध मिलाईएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरिक्षक टेक प्रसाद राईले बताए। मतदान केन्द्र्रमा हुन सक्ने अवाञ्छित तथा उच्छृङ्खल गतिविधि नियन्त्रणका निम्त्ति सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने उनले जानकारी दिए।
निर्वाचनलाई दृष्टिगत गर्दै नेपाली सेनाले पनि ७५ हजारको संख्यामा सुरक्षा जनशक्ति परिचालन गर्ने तयारी रहेको जनाएको छ। ७७ वटै जिल्लामा हवाई, पैदल, मोबायल र रिजर्ब गस्ती गरि सो संख्यामा सुरक्षा जनशक्ति परिचालनको गरिने नेपाली सेनाले जानकारी दिएको छ। नेपाली सेनाका सुचना अधिकारी सहायक रथी नारायण सिलवालका अनुसार सुरक्षा संवेदनशीलता बिश्लेषणको आधारमा निश्चित क्षेत्रमा हवाई गस्तीको समेत प्रबन्ध मिलाईएको छ। ‘प्रदेश अनुसार हवाई गस्ती गर्न सकिदैन। त्यसका लागि निश्चित क्षेत्र विभाजन गरिएको छ,’ उनले भने, ‘इटहरी, सुर्खेत र काठमाडौंबाट त्यसको व्यवस्थापन मिलाईएको छ। कारागार र विमानस्थल सुरक्षाको जिम्मेवारी पनि सेना र सशस्त्रले नै हेर्नुपर्ने भएकाले सोही अनुरुप व्यवस्थापन मिलाईएको छ।’
यसबाहेक निर्वाचनको दौरान आवश्यक परेको खण्डमा जिल्लाको जुनसुकै ठाउँमा ३० मिनेटभित्र पहुँच पुग्नसक्ने गरि आवश्यक प्रबन्ध समेत मिलाईएको नेपाली सेनाले जनाएको छ। निर्वाचनलाई लक्षित गर्दै सेनासँगै सशस्त्र प्रहरीले पनि ३५ हजारको हाराहारीमा सुरक्षा जनशक्ति परिचालन गर्नेछ। सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाका अनुसार निर्वाचनलाई दृष्टिगत गर्दै देशभरि ३४ हजार ८३८ जना सशस्त्र प्रहरी परिचालनको प्रबन्ध मिलाईएको छ। सशस्त्रलाई मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयको सुरक्षाको मुख्य जिम्मेवारी प्राप्त भएकाले सोही अनुरुप विभिन्न टोलीहरू परिचालनको तयारी रहेको प्रवक्ता थापाले बताए। हाल प्रत्येक निर्वाचन केन्द्रमा डिएसपीको कमाण्डमा प्रहरीहरू खटाईसकिएको उनले जानकारी दिए। उनले भने, ‘हामीले मोबायल, स्ट्राईकिङ र रिजर्भ टोलीहरू परिचालन गरेका छौं।’
निर्वाचन अवधिभर अत्यावश्यक बाहेकको अवस्थामा ओहोरदोहोर गर्न नपाईने गरी मंसिर २ गतेदेखि अन्तराष्ट्रिय सीमाना सिल गर्ने तयारी सरकारले गरेको छ। अन्नपूर्ण पोस्टबाट





















प्रतिक्रिया