Logo

प्रमुख समाचार

घोराही उपमहानगर प्रमुखको गाडी प्रहरीको नियन्त्रणमा



दाङ । दाङको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रयोग गर्ने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मौन अवधिमा स्रोत साधनको दुरूपयोग गरी निर्वाचन प्रभावित पार्न खोजिएको आरोपसहित शनिबार घोराही-१७  का स्थानीयले मेयर चढ्ने रा १ झ १४५ नम्बरको गाडीको हावा खुस्काइ दिएका थिए । गाडीको हावा फालिदिएपछि गाडी स्थानीयले नियन्त्रणमा लिएका थिए । 

उक्त गाडी जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालयले बताएकाे छ ।

चुनाव प्रभावित पार्न उक्त गाडी प्रयोग भएको आरोप स्थानीयको छ । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा खड्का प्रतिस्पर्धामा छन् । उनीहरू बीच कडा प्रतिस्पर्धा रहने अनुमान गरिएको छ । 

यसअघि पनि नगर प्रमुख चौधरी निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै एमाले महासचिव पोखरेलको चुनावी प्रचारमा हिँडेको आरोप लाग्दै आएको थियो । 

मेयर चौधरी लगातार दोस्रो कार्यकाल मेयरमा निर्वाचित भएका व्यक्ति हुन् । थारु गाउँमा उनको प्रभाव रहेको हुँदा निर्वाचन प्रभावित पार्न उनको गाडी प्रयोग भएको आरोप प्रतिपक्षी दलहरूको छ । यसबारे मेयर चौधरीको भने कुनैपनि प्रतिक्रिया आएको छैन ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार १७:४३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।