काठमाडौं । प्रतिस्पर्धा जस्तोसुकै होस्, जेसुकैका लागि होस्, ‘ब्याटलग्राउन्डमा उत्रिसकेपछि पराजय व्यहोर्न कुनै यद्धा चाहँदैन । जुन अस्वभाविक होइन । तर जितका लागि अर्थात् स्वार्थ पूर्तिका लागि आफ्नो इज्जत, मान, प्रतिष्ठा र नैतिकता नै दाउमा राख्नुलाई कुनै कोणबाट स्वभाविक मान्न सकिन्न । दुर्भाग्यवस लोकतन्त्रको एउटा ‘महाउत्सव’ निर्वाचनमा यस्तै प्रवृत्ति यत्रतत्र छरपस्टिएको हामी देख्न सक्छौं । दल तथा नेताहरु देश र जनताको हित र समृद्धिका लागि भन्दा बढी पार्टीगत तथा व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेका हामी देख्न सक्छौं । यसका अनेक उदाहरण हामीसामू छन्, जसमध्ये एउटा विषयको यहाँ चर्चा गरौं ।
नेपालमा मुलतः प्रजातान्त्रिक र कम्युनिष्ट गरी दुई ध्रुवका राजनीतिक दलहरुले लामो समयदेखि राज्यसत्तामा राज गर्दै आएका छन् । यससँगै अर्को ‘राजा आउ, देश बचाऊ’को नारा लगाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छ, जसको मुख्य एजेन्डा करिब दुई दशक पछाडि फर्कनु अर्थात् मुलुकमा राजतन्त्रसँगै हिन्दूराज्य पुनः स्थापना गर्नु हो । मुख्य गरी यही उद्देश्य बोकेर आनिर्वाचनमा होमिएको राप्रपाले उम्मेदवार भने क्रिश्चियन धर्मको वकालत गर्ने व्यक्तिलाई बनाएको छ । हिन्दू राज्य पुनः स्थापनाको उसको एजेन्डालाई आधार मान्ने हो भने राप्रपाको यो घृणित कमद हो, जुन कुनै दृष्टिकोणबाट सुहाउँदो देखिँदैन ।
हिन्दुअधिराज्य पुनर्स्थापनाको माग गर्दै धर्म निरपेक्षता र धर्म परिवर्तनको चर्को बिरोध गर्ने राप्रपा पनि यतिबेला चुनावी अभियानमा छ। तर नेकपा एमालेसंग साठगाठ गरेसंगै लिंग्देंन नेतृत्वको राप्रपाले कम्युनिस्टको धर्म हुदैन,यो अफिम हो भन्ने कुरालाई आत्मसाथ गरेको प्रस्ट देखिन्छ। पार्टीभित्र लामो समय देखि संघर्ष गरेका मुद्दाप्रति समर्पित कट्टर हिन्दुवादी कर्मठ योद्दालाई लत्याएर भोट कलेक्सन गर्नकै लागि पश्चिमा सस्कृतिका अनुयायी र क्रिश्चियन मिसनरीका अगुवाहरुलाई प्राथमिकतामा राखेको पाईएको छ ।
राप्रपाले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्द सूचीमा जनजातितर्फको एक नम्बर विना लामालाई राखेको छ । उनै लामा क्रिश्चियन धर्मको पक्षमा वकालत गर्दै हिँड्ने ‘पास्टर’ हुन् । उनी धादिङको रुवीभ्याली गाउँपालिकाकी पूर्व उपाध्यक्ष समेत हुन् । २०७४ को स्थानीय तह निर्वाचनबाट उनी त्यहाँ निर्वाचन भएकी थिइन् । विना उपाध्यक्षमा निर्वार्चित भएपछि विभिन्न प्रलोभन देखाएर त्यस क्षेत्रका स्थानीयलाईसमेत क्रिश्चियन धर्मप्रति आकर्षित गरेको रुवीभ्यालीका एक स्थानीय बताउँछन् ।
पास्टर विना लामा कसरी बने राप्रपा उम्मेदवार ?
धर्मनिरपेक्ष मुलुकमा निरन्तर हिन्दू राज्यको माग गर्दै आएको राप्रपाले क्रिश्चियन धर्मका पास्टरलाई किन उम्मेदवार बनायो ? यो प्रश्नको जवाफमा स्वतः जोडिएर आउँछ– दलीय तथा व्यक्तिगत स्वार्थ । अन्य धर्मावलम्बीहरु आफ्नौ धर्म मान्नमै सीमित रहेपनि धर्म मान्न मात्रै होइन, विश्वव्यापी रूपमा फैलाउनमा समेत ठूलो मात्रामा शक्ति, पैसा र हतियार प्रयोग गरिरहेका क्रिश्चियनलाई अहिले स्वार्थकै लागि हिन्दू राज्यको मुद्दा बोकेको राप्रपाले स्थान दिएको विश्लेषकहरु बताउँछन् । ‘मुलुकमा सुस्त गतिमा भए पनि क्रिश्चियनहरुको संख्या बढ्दै छ । उनीहरुको मत पार्टीको पक्षमा तान्न यस्तो खेल खेलिएको हुन सक्छ’, एक राजनीतिक विश्लेषक भन्छन्, ‘अथवा यसमा स्वयम् उम्मेदवारको स्वार्थ पनि हुन सक्छ ।’
फरक पृष्ठभूमिका फरक विचारधाराका व्यक्तिलाई समानुपतिकको जनजातितर्फ पहिलो नम्बर राख्ने सवालमा राप्रपामै मतैक्यता थिएन । त्यसैका बाबजुद विनालाई पार्टी उपाध्यक्ष बुद्धिमान तामाङको फोर्समा राखिएको राप्रपाकै असन्तुष्ट नेताहरु बताउँछन् । ‘उहाँ (विना लामा)लाई समानुपातिक उम्मेदवार बनाउने विषयमा धेरै साथीहरुको विमति थियो’, राप्रपाकै एक नेता भन्छन्, ‘तर हाम्रो पार्टी उपाध्यक्ष (बुद्धिमान तामाङ)को फोर्समा राखिएको हो ।’ राप्रपा उपाध्यक्ष तामाङ उनै व्यक्ति हुन जसलाई पटक पटक क्रिश्चियन भनेर आरोप लाग्दै आएको छ ।
विना मात्रै होइनन्, राप्रपामा क्रिश्चियन धर्ममै आस्था राख्ने अर्का नेतालाई पनि प्रदेसभाको टिकट दिएको छ । क्रिश्चियन र्धर्ममा आस्था राख्ने तर हिन्दू राज्यको मुद्दा बोकेको राप्रपाका केन्द्रीय सदस्यसमेत रहेका डम्बर तामाङलाई धादिङ क्षेत्र नम्बर २ को (२) प्रदेसशभा सदस्य उम्मेदवारका लागि टिकट दिएको हो । उनले सामाजिक संजालमामार्फत भोट अपिल गर्दासमेत ‘जयमसी’ भन्दै आफू क्रिश्चियन हो भन्ने विषय पुष्टि गरेका छन् । जयमसी शब्द क्रिश्चियनहरुले कसैलाई अभिवादन वा सम्मान भाव व्यक्त गर्दा प्रयोग गर्ने शब्द हो, जसलाई उनले भोट माग्दासमेत प्रयोग गरेका छन् ।
उद्देश्य हिन्दू राज्य पुनः स्थापना भए पनि क्रिश्चियन धर्ममा आस्था राख्नेलाई टिकट दिइएपछि राप्रपामा वर्षौं हिन्दू राज्यको वकालत गर्ने नेताहरु असन्तुष्ट छन् । असन्तुष्ट नेताहरुले पार्टीमा त्यसविरुद्ध ‘नोट अफ डिसेन्ट’ नै खेलेको भए पनि सुनुवाइ नभएको पाइएको छ । ‘हामी यसरी अघि बढ्दा अन्य दलहरु भन्दा कुनै हिसाबले फरक हुन सक्दैनौं । यसो नगरौं भनेर भन्यौं । यसमा धेरै साथीहरु एक मत थियौं । तर हाम्रो माग सुनुवाइ भएन’, राप्रपाकै एक नेता भन्छन् । अन्य दलहरुको बाली एउटा काम गराई अर्कै भएको भन्दै ती नेताले राप्रपामा पनि यो प्रवृत्ति हाबी हुने चिन्ता व्यक्त गरे । ‘हामीले हिन्दू राज्यको मुद्दा उठाएर क्रिश्चियन धर्मलाई प्रवद्र्धन गर्न लागेको जस्तो भयो’, उनी भन्छन्, ‘यो त कुनै हालतमा न्यायसम्मत देखिएन । पार्टीमा उम्मेदवार नै नभएको भए अर्कै कुरा । तर पार्टीमा वर्षौंदेखि हिन्दू राज्य भनेर संघर्ष गर्ने साथीहरु पनि त छन् ।’
पार्टीभित्रकै असन्तुष्टिकै असहमतिका बिच फरक पृष्ठभूमिका व्यक्तिको हातमा टिकट पुग्नु मुलतः दलगत र व्यक्तिगत स्वार्थ हाबी हुनु नै हो भन्दा दुई मत नहोला । पछिल्लो समय बढ्दै गएका क्रिश्चियन समुदायको भोट पार्टीमा तान्न यो कदम चालिएको विश्लेषकहरुको विश्लेषण छ ।
धर्म निरपेक्षताको खारेजीको माग गर्दै हिन्दूत्वको मुद्दा भँजाएर हिन्दु राज्य पुनःस्थापनाको वकालत गरेर नथाक्ने राप्रपाले क्रिश्चियन धर्म फैलाउन लागिपरेका पात्रहरुलाई संसदीय चुनावमा प्राथमिकताका साथ समानुपातिक उम्मेदवार बनाएको हो । यसबाट राप्रपा विचार, सिद्धान्त, मुद्दा र एजेन्डाभन्दा धेरै टाढा गएर राप्रपाकै नेताहरुको ठहर छ । यो कदम पार्टीका ‘ब्लण्डर’ भएको एक नेता बताउँछन् ।
एमाले पनि उही बाटाेमा
राप्रपाले मात्र नभई क्रिश्चियनको भोट तान्न नेकपा एमालेले समेत यस्तै चलाखीपूर्ण कदम चालेको छ । पार्टीभित्रै विरोधका बाबजुद एमालेले पनि विवादित आईएनजीओ यूनिभर्सल पीस फेडेरेसन (युयीएफ) का नेपाल संयोजक एकनाथ ढकाललाई समानुपातिक तर्फको टिकट दिएको छ । उनलाई एमालेले समानुपातिक तर्फको बन्द सूचीमा खस–आर्य पुरुषतर्फको दोस्रो नम्बरमा राखेका छ । उच्च प्राथमिकताका कारण उनी आागामी संसदमा एमालेबाट समानुपातिक सांसद बन्ने लगभग निश्चित रहेको बताइन्छ ।
२०७५ मंसिरमा काठमाडौंमा भएको ‘होली वाइन’ सम्मेलनका नामलेसमेत चिनिने एसिया प्यासिफिक समिट उनै एकनाथ ढकालको मुख्य पहलमा भएको थियो । नेपालभरका क्रिश्चियन समुदायहरुको भोट तान्न युपिएफका नेपाल संयोजक ढकालसँग एमालेले पनि साँठगाँठ गरेको केहीको अरोप छ ।




















प्रतिक्रिया