Logo

राजनीति

गोरखामा धाँधली भएकाे भन्दै पुनः मतदान गराउन एमालेको माग



गाेरखा । नेकपा एमाले गोरखाले जिल्लाका विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै पुन: चुनाव गराउन माग गरेको छ । जिल्ला सचिव काजीराम रोकाले विज्ञप्ति निकालेर निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न केन्द्रमा मृतक तथा तत्काल अनुपस्थित रहेकाहरुको नामबाट समेत मतदान गरिएको पाइएको भन्दै चनाव स्वतन्त्र र निष्पक्ष हुन नसकेको दाबी गरेका छन् ।

ती केन्द्रमा सत्ता गठबन्धनका मतदान प्रतिनिधिहरुले अन्य उम्मेदवारका प्रतिनिधिलाई हातपात गर्ने लगायतका अवाञ्छित गतिविधि गरेका पनि विज्ञप्तिमा दाबी गरिएको छ । विन्द्रावती मावि मसेलका ३ वटा केन्द्र, बालकल्याण आधारभूत विद्यालय फुस्रेमाटा केन्द्र, आरुघाट गाऊँपालिका-१ मान्बुका केही मतदान केन्द्र, सौरपानीको हिमालय मावि केन्द्र, ताकुकोटको सूर्यज्योती मावि केन्द्र, धार्चे गाऊँपालिका-३ को पार्वती आधारभूत विद्यालय केन्द्रमा पुनः मतदान गर्न एमालेको विज्ञप्तिमा माग गरिएको छ ।

ती केन्द्रहरुमा मतदानका क्रममा भएको अवाञ्छित गतिविधिहरुको निष्पक्ष छानबिन गर्न पनि माग गरिएको छ । मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले केही केन्द्रमा निष्पक्ष रुपमा चुनाव हुन नसकेको भन्दै कार्यालयमा निवेदन प्राप्त भएको बताए । केन्द्रमा खटिएका कर्मचारी लगायतसँग बुझेर यसबारे निर्क्याेल गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०८:०५   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।