Logo

राजनीति

समानुपातिकतर्फ ३२ लाख मतगणना, कुन दलले कति सिट पाए ?



काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा नेकपा एमालेले निरन्तर अग्रता लिइरहेको छ ।

अहिलेसम्म ३२ लाख १३ हजार मतगणना हुँदा एमाले ८ लाख ५० हजार ४४ मतका साथ अग्रस्थानमा छ। यो कुल खसेको मतको २६.५ प्रतिशत हो ।

दोस्रो स्थानमा रहेकाे नेपाली कांग्रेसको ८ लाख १२ हजार ८ सय ७५ मत छ । यो कुल मतको २५.३ प्रतिशत हो ।

समानुपातिकको तेस्रो स्थानमा गणना सुरू भएदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी छ । उक्त पार्टीले ४ लाख २ हजार ९ सय ४० मत प्राप्त गरेको छ, जुन कुल मतको १२.५ प्रतिशत मत हुन्छ।

स्वतन्त्र पार्टीभन्दा अलि कम मत नेकपा माओवादी केन्द्रको छ । माओवादीको ३ लाख ८४ हजार ८ सय ३९ मत छ, जुन कुल मतको १२ प्रतिशत हुन आउँछ ।

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको मत २ लाख १३ हजार ८ सय ९० र जनता समाजवादी पार्टीको १ लाख ९ हजार ९ सय ८४ मत छ । यो क्रमश: ६.७ र ३.४ प्रतिशत हुन आउँछ ।

मतगणनाको ट्रेन्ड हेर्दा जसपाले समानुपातिक सिट बाँडफाँटका लागि आवश्यक ३ प्रतिशत थ्रेसहोल्ड कटाउने देखिन्छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउने दलहरूले प्राप्त गरेको मतका आधारमा ११० सिट बाँडफाँट हुनेछ । मतपरिणामको जारी ट्रेन्ड कायम रहे एमालेले ३५, कांग्रेसले ३४, स्वतन्त्र पार्टीले १७, माओवादी केन्द्रले १६, राप्रपाले ९ र जसपाले ४ सिट प्राप्त गर्ने देखिन्छ ।

तर अझै झन्डै ७० लाख मत गन्न बाँकी रहेकाले सिट बाँडफाँटबारे निर्क्यौल गर्न सकिँदैन ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ०७:०२   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।