काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।
आइतबार दिउँसो पौने २ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २५ लाख ३९ हजार ५८६ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख तीन हजार ६३६ मत ल्याएको छ ।
नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा उक्लिएको छ । माओवादी केन्द्रले १० लाख ६८ हजार ५०३ मत पाएको छ । माओवादी केन्द्र यसअघि चौथो स्थानमा थियो ।
तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले चौथो स्थानमा पुगेको छ । उक्त पार्टीले १० लाख ६४ हजार २०५ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ४५ हजार ७५८ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) तीन लाख ३० हजार ३३४ मत पाउँदै छौटौँ स्थानमा छ ।
जनमत पार्टी दुई लाख ६६ हजार ११५ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ५३ हजार ३७० मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ३७ हजार ९६४ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख २७ हजार ९४४ मतसहित १०औँ स्थानमा छ । अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् ।




















प्रतिक्रिया