काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका छन् । झापा–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शर्माले मंगलबार काठमाडौंस्थित महामन्त्री थापाको घरमै पुगेर बधाई ज्ञापन गर्दै थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका हुन् ।
महामन्त्रीले शर्माले अर्का महामन्त्री थापा पटक–पटक सांसद भइसकेको र मन्त्री भएर अनुभव पनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदको लागि नेतृत्व गर्नेगरी अगाडी बढ्नुपर्ने बताए । ‘अब देशको आवाज के हो ? देशको आवश्यकता के हो ? त्यो आवश्यकतालाई बुझेर नेतृत्व गर्ने ढंगले तपाई अब, प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने ढंगले अगाडी बढ्नुस् भन्नका लागि म आएको हो । त्यो भन्ने कुरा मात्रै होइन त्यस विषयको अभियानलाई सुरु गर्नलाई पनि म आएको हो’, शर्माले थापासँग भने ।
महामन्त्री शर्माले थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरु र सांसदहरुसँग छलफल अगाडी बढाउने बताए । उनले थापालाई संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको पनि बताए ।




















प्रतिक्रिया