Logo

प्रमुख समाचार

गाउँपालिका संघको अध्यक्षमा कांग्रेसकी पाण्डे, महासचिवमा एमालेका थापा



काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले भागबन्डा टुंग्याएका छन् । काठमाडौंमा भइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनबाट चयन हुने नेतृत्वका लागि दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागवण्डा गरिएको हो ।

स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्ष पाउने भएको छ । कांग्रेसले अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई पठाउने भएको छ । उपाध्यक्ष भने टुंगो लगाए नसकेको बताइएकाे छ ।

त्यस्तै दोस्रो ठूलो दल नेकपा एमालले महासचिव, सचिव र ७ जना सदस्य पाउने भएको छ । एमालेले महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापालाई पठाउने भएको छ । त्यस्तै सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारलाई पठाउने भएको छ ।

सदस्यहरुमा दीलकुमारी लावती (इलाम), सुमन मिरिंपचन (मोरङ), उग्रनारायण यादव (सिरहा), रामकुमार आचार्य (धादिङ), सरस्वती चिदी (पाल्पा), सहनशीला ओली (सल्यान) र दुर्गादत्त ओझा (डोटी) रहने भएका छन् ।

कोषाध्यक्ष पाएका नेकपा माओवादी केन्द्रले भने नाम तय गर्न बाँकी रहेको गाउँपालिका महासंघले जनाएको छ । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो पटक महाअधिवेशन भएको हो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १५:३९   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।