Logo

अर्थ

विदेशी मुद्रा सञ्चितिमा थप सुधार, ४ महिनामा २.५ प्रतिशतले बढ्याे



काठमाडाैं । कात्तिक महिनामा विदेशी विनिमय सञ्चितिमा थप सुधार देखिएको छ । पछिल्लो ४ महिनामा विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढेको हो । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो ४ महिनाको मुलुकको वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्दै कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्ममा १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँ विदेशी विनिमय सञ्चित भएको छ । असोज मसान्तसम्म यस्तो सञ्चिति १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको छ । पछिल्लो एक महिनामा ५ करोड रुपैयाँले बढेको छ ।

असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा १.० प्रतिशतले वृद्धि भई ९ अर्ब ६३ करोड कायम भएको छ ।

आर्थिक वर्ष २०७९–८० को ४ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई १० खर्ब ९१ अर्ब २२ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा २.७ प्रतिशतले कमी आई रु.१५५ अर्ब ५ करोड कायम भएको छ । २०७९ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १६:४४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।