काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा प्रधानमन्त्री शाहले उच्चस्तरीय भेटवार्ता, द्विपक्षीय छलफल तथा विभिन्न परियोजनाको उद्घाटन र शिलान्यास गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो। परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारत भ्रमणमा रहनेछन्। उनी आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत प्रस्थान गर्नेछन्। भ्रमण सकेर सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यक्रम छ।
प्रधानमन्त्रीको भ्रमण टोली ३४ सदस्यीय हुनेछ। टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार तथा विभिन्न मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन्। त्यस्तै, निजी क्षेत्रका ५२ जना व्यवसायी आफ्नै खर्चमा भारत जानेछन्। भ्रमणको रिपोर्टिङका लागि सञ्चारमाध्यमका पत्रकार पनि आफ्नै खर्चमा भारत जाने मन्त्रालयले जनाएको छ।
भ्रमणको मुख्य कार्यक्रमअन्तर्गत प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। मोदीले प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा औपचारिक मध्याह्नभोजसमेत आयोजना गर्नेछन्।
यसैगरी, प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन्। भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पनि आइतबार प्रधानमन्त्री शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्नेछन्। साथै, नेपाल–भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि तय भएको छ।
भ्रमणकै क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम आयोजना हुनेछ। उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नेछन्। नेपालमा भारतीय लगानी आकर्षित गर्ने, व्यवसायीका चासो र सरोकार सुन्ने तथा लगानी विस्तारका लागि सरकारले अवलम्बन गरेका नीतिगत दृष्टिकोण र प्रयासबारे जानकारी गराउने मन्त्रालयले जनाएको छ।
दुई देशका प्रधानमन्त्रीबीचको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधारलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ।
प्रधानमन्त्री शाह स्वदेश फर्किएपछि मंसिर ७ गते अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणका विषयवस्तु तथा उपलब्धिबारे पत्रकार सम्मेलन गरी जानकारी गराउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।



















प्रतिक्रिया