Logo

अर्थ

आगामी दिनमा सहकारीहरुलाई समस्याग्रस्त बन्नै नदिने गरी काम भइरहेको छ : मन्त्री श्रेष्ठ



काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मन्त्रालयसम्बन्धी छरिएर रहेका ऐन र कानुनहरुलाई एकीकृत गर्ने काम भइरहेकाे बताएकी छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिनसम्बन्धी आज मन्त्रालयमा भएको कार्यक्रममा उनले भूमि तथा सहकारी सम्बन्धी छरिएर रहेका र पूराना कानुनहरुलाई समेटेर एकीकृत कानुन निर्माण गर्ने र समयानुकुल बनाउने काम मन्त्रालयले सुरु गरिसकेकाे बताइन् ।

नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै उनले सदस्य केन्द्रित सहकारी विकास गरेर जाने र मस्याग्रस्त सहकारीहरुको उचित व्यवस्थापन गरी आगामी दिनमा सहकारीहरुलाई समस्याग्रस्त बन्नै नदिने गरी काम भइरहेको बताइन् । उनले सहकारीहरु आफ्नो उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिँदै यस अनुरुप चलेको थुप्रै सहकारीहरुले राष्ट्रहित र जनहितको पक्षमा राम्रो काम गरिरहेको पनि बताइन् ।

मन्त्री श्रेष्ठले भूमिको उचित प्रयोग गरी उत्पादन र उत्पादकत्व बढाएर सहकारीका माध्यमबाट रोजगारीको विकास गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सकिने भन्दै त्यस तर्फे सहकारीहरु लाग्नु पर्नेमा जोड समेत दिइन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले प्रचलनमा रहेका सहकारी सम्बन्धी ऐन र कानुनहरु पुराना भएकाले यसलाई समयानुकुल बनाउन आवश्यक रहेको औंल्याएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १७:२६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।