Logo

राजनीति

राजनीतिक पृष्ठभूमिभन्दा बाहिरकालाई राष्ट्रपति बनाउनु व्यवस्थाविरुद्ध : महासचिव गुरुङ

'माओवादी देशको अभिभावक भएकाेले प्रचण्डको नेतृत्वमा सरकार'



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिरका व्यक्तिलाई राष्ट्रपति बनाउनु व्यवस्थाको विरुद्धमा हुने बताएका छन् । उनले दलीय व्यवस्थामा देशको नेतृत्वकर्ता नेताहरु नै हुनुपर्ने भन्दै विकल्प खोज्नु घातक हुने चेतावनी दिए ।

संवाद डबलीमा आयाेजित एक अन्तरक्रियामा गुरुङले भने, “केही दिनयता संचारमाध्यमहरुमा गैरराजनीतिक पृष्ठभूमिको व्यक्तिलाई राष्ट्रपति बनाउने भन्ने हल्ला चलेको छ । यो यदि सत्य हो भने घुँडा टेकुवा प्रवृत्ति हो । यो अहिलेको व्यवस्थाबाट विचलन भएर निर्दलीय व्यवस्थामा जाने कुरा हो । यसलाई मान्न सकिँदैन । दलीय व्यवस्थामा देशको नेतृत्वकर्ता नेताहरु नै हुन् । उनीहरुको विकल्प खोज्नु घातक हुन्छ ।”

यस्तै महासचिव गुरुङले चुनावको परिणामले दल र राज्य प्रणालीमाथि प्रश्न उठेको बताएका छन् । चुनावको परिणामले दलहरुबीच द्वन्द्व र अविश्वास बढाउन सक्ने बताउँदै उनले दलहरुबीच समझदारी आवश्यक रहेको बताए । “अहिलेको चुनावले केही नयाँ संकेत गरेको छ, नयाँ दलहरुको मिसन र भिजन प्रष्ट भइसकेको छैन । उनीहरु कतातिरको बाटोमा हिँड्ने हुन् हेर्न बाँकी छ’, उनले भने, ‘तर पनि प्रणालीमाथि केही प्रश्न उठेका छन् । दल र नेताहरुले गम्भीरतापूर्वक त्यसको जवाफ नदिए देश अफगानिस्तान र युक्रेन नहोला भन्न सकिँदैन ।”

राष्ट्रिय स्वधिनताको सवाल गम्भीर भएर आएको भन्दै त्यसमा प्रतिवद्धताका आधारमा आफूहरुको सहकार्य हुने गुरुङले बताए ।
उनले देशको अभिभावक तथा अहिलेको परिवर्तनको संवाहक जनयुद्ध र जनआन्दोलनको नेतृत्वकर्ता दल र नेताहरु भएको बताए । उनले शान्तिप्रक्रियामार्फत अहिलेको अवस्थामा दलहरु पुगेको बताए ।

गुरुङले भने, “जनयुद्ध र जनआन्दोलनको नेतृत्वकर्ता दलहरु देशका अभिभावक हुन् । मुख्यगरी विचार र सिद्धान्त र अहिलेको परितर्वनको हिसाबले माओवादी देशको अभिभावक हो । यो जिम्मेवारीबाट पछि हट्नु हुँदैन । शान्तिप्रक्रियाका हस्ताक्षरकर्ता भएकोले प्रचण्डले अबको सरकारको नेतृत्व गर्नुपर्छ ।”

विश्वमै कम्युनिस्ट आन्दोलन कमजोर भएको बेला नेपालमा त्यसको प्रभाव चुनावमा पनि देखिएको गुरुङले बताए । उनले आफूहरुले नयाँ परिस्थितिमा पार्टी निर्माण र जनतासँग जोडिने विषयमा कमजोरीका कारण चुनावको परिणाम आएको बताए । पार्टीले चुनावको गम्भीर समिक्षा गरेर अगाडि बढ्ने बताए ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार १६:०६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।