बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटनका लागि आज बुटवल आइपुगेकी छन् । रुपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवल आएकी हुन् ।
राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत् रुपन्देहीको रामनगरस्थित नेपाली सेनाको ब्यारेकमा दिउँसो १ः१० बजे अवतरण गरिन् । उनले आज बुटवल मण्डपमा आयोजित एक समारोहकाबीच औद्योगिक प्रदर्शनीको औपचारिक उद्घाटन गरेकी उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले जानकारी दिए ।
राष्ट्रपतिको स्वागतका लागि प्रदर्शनीस्थल बुटवल मण्डपमा विशेष तयारी गरिएको छ भने जिल्लामा सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ ।
स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न प्रकृतिका स्वदेशी उत्पादन तथा प्रविधिका चार सय ५० स्टल छन् ।
यसपटकको प्रदर्शनीमा सात लाख दर्शकले अवलोकलन गर्ने र रु २५ करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको अध्यक्ष पौडेलले बताए । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन सांस्कृतिक कार्यक्रमको पनि व्यवस्था गरिएको छ ।




















प्रतिक्रिया