प्रतिनिधिसभाको सभामुख नेकपा (एमाले) ले पाउने निश्चित भएको छ । तर सभामुखमा चारजना आकांक्षी देखिएका छन् । एमालेका छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र विद्या भट्टराईको नाम अहिले चर्चामा छ । यीमध्ये पन्त समानुपातिक तर्फबाट निर्वाचित हुन् भने अन्य तीनजना प्रत्यक्ष निर्वाचित हुन् ।
चारैजनाले सभामुख दाबी गरे पनि अन्तिममा कसलाई सभामुख बनाउने भन्ने टुंगो अहिल्यै नलाग्ने स्रोतले बतायो । राष्ट्रपतिको टुंगो लगाएपछि मात्र सभामुखको टुंगो लगाउने गरी काम भइरहेको एक नेताले बताए । एमाले–माओवादीको सहमतिबमोजिम आधाआधा कार्यकाल अर्थात् साढे दुई वर्षका दरले पाँच वर्षमा दुई पार्टीबाट सभामुख बन्ने सहमति भएको छ ।
पहिलो कार्यकाल एमालेलाई परेको छ । सभामुख पुरुष भए उपसभामुख महिला हुनुपर्ने व्यवस्था छ भने सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संविधानमा उल्लेख छ । सबै पक्षलाई हेरेर सभामुखको निर्वाचन हुनेछ ।
संसद्को अधिवेशन पुस २५ गते आह्वान भइसकेको छ । पहिलो बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा हुनेछ । उनले सभामुखको निर्वाचन भएपछि मात्र आफ्नो पद छाड्नेछन् । उपसभामुखको निर्वाचन नयाँ सभामुखले गर्नेछन् ।
संसद् अधिवेशनमा सबैभन्दा पहिला सरकारले विश्वासको मत लिनेछ । सरकारले विश्वासको मत लिइसकेपछि सभामुखको निर्वाचन हुनेछ । तत्काल कायम सबै प्रतिनिधिसभा सदस्य संख्याको बहुमतबाट सभामुख निर्वाचित हुनेछन् । पहिलो प्रस्तावमा बहुमत प्राप्त भएपछि बाँकी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने छैन ।
कुनै दललाई पनि भेदभाव नगरी सभाको बैठक सञ्चालन गर्ने महत्वपूर्ण जिम्मेवारी सभामुखलाई हुनेछ । नागरिक दैनिकमा समाचार छ ।





















प्रतिक्रिया