धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन् । कैलाली २ को प्रदेशसभा १ बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।
दलको नेतामा आकांक्षी रहेका प्रदेश महामन्त्री मेघराज खड्कासहितका अन्यले शाहलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएका हुन् । कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकांक्षा राखेका थिए ।
शाह महासमिति सदस्यसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशको समर्थनमा दलको नेता बनेका हुन् । मंगलबार बसेको प्रदेश पदाधिकारीको बैठकले दलको नेतामा आकांक्षीहरुलाई सर्वसम्मत चयन गर्न सुझाव दिएको थियो ।
तर सहमति नजुटेपछि प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो । उक्त समितिले दिउँसो साढे २ बजेसम्म उम्मेदवार मनोनयनको समय तोकेको थियो, तर नेताहरुबीच मनोनयन दर्ता गर्ने समय सकिँदै गर्दा सर्वसम्मत नेता चयन गर्ने सहमति भएको हो ।





















प्रतिक्रिया