भोजपुर । यहाँका अस्पतालमा विषेशज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा नहुँदा ठूलो रोग तथा आकस्मिक रूपमा हुने दुर्घटनाको उपचारका लागि सेवाग्राही बाहिरका अस्पताल जान बाध्य छन् । सुविधासम्पन्न अस्पताल नहुँदा आकस्मिकरूपमा हुने दुर्घटना तथा गर्भवतीलाई अहिले पनि हेलिकोप्टर चार्टर्ड गरेर बाहिर लैजानुपर्ने अवस्था छ । त्यो पनि गरिब तथा विपन्न परिवारका लागि सम्भव छैन । एम्बुलेन्समार्फत यहाँबाट बाहिर सिफारिस गरिँदा लामो बाटो भएका कारण कतिपयको अकालमा ज्यान गएको अवस्था पनि छ ।
जनताले पाएको सास्तीलाई ध्यानमा राख्दै जिल्ला अस्पतालमा आधुनिक सघन उपचारकक्ष (आइसीयू) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । उपकरण जडानकार्य सम्पन्न भए पनि आवश्यक जनशक्तिको अभावका कारण सेवा सञ्चालन गर्न समस्या छ । सङ्घीय सरकारबाट आएको रु दुई करोड लागतमा यहाँ चार शय्याको भेन्टिलेटरसहित आइसीयू कक्षमा उपकरण जडान गर्ने काम सम्पन्न भए पनि आवश्यक दक्ष चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालले जनाएको छ ।
यहाँ आवश्यक परेको खण्डमा अझै दुई शय्या थप्न सकिने अस्पतालको भनाइ छ । आइसीयू सञ्चालनका लागि एनएसथेसिया चिकित्सकसहित १० देखि १२ जना आवश्यक रहेको भए पनि जनशक्ति अभावमा सेवा सुरु गर्न नसकिएको अस्पतालका प्रमुख डा मिलन राईले जानकारी दिए । केन्द्रबाट दरबन्दी आउन ढिलो हुने भएकाले अहिले स्थानीय तहहरूसँग छलफल गरेर बजेटको व्यवस्थापन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
आइसीयू सेवा सञ्चालन गर्न भवनको समेत अभाव रहेको छ । बिरामीको चाप बढेकाले १५ शय्याको अस्पतालमा ३७ शय्या सञ्चालन गरिएको छ । जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नोति गर्न मन्त्रालयबाट स्वीकृति पाएको भए पनि आवश्यक काम अघि बढ्न ढिला भएको प्रमुख डा राईले जानकारी दिए । पचास शय्याको अस्पताल सञ्चालनका लागि विशेषज्ञ चिकित्सकसहित एक सय ४९ जनशक्ति आवश्यक पर्ने उनको भनाइ छ ।




















प्रतिक्रिया