हेटाैंडा । बागमती प्रदेशसभाको आगामी माघ २ गते हुने उपसभामुख पदको निर्वाचनको लागि दलगतरुपमा तीन जना उम्मेदवारले आज अपराह्न आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा तीनै जना महिला उम्मेदवार छन् । सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईंले उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा छिन् ।
यसैगरी, नेपाली कांग्रेसको तर्फबाट सुना परियारले उम्मेदवारी दिएकी छन् । उनकाे प्रस्तावकमा उत्तम जोशी र समर्थक याङकिला शेर्पा छिन् । यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट गीता काफ्लेले उम्मेदवारी दिएकी छन् । उनको प्रस्तावकमा सुरेन्द्रराज गोरसाईँ र समर्थकमा सृजना सैजू छिन् ।
प्रदेशसभाको उपसभामुखको निर्वाचन आगामी माघ २ गते अपराह्न ३ बजेको समय निर्धारण गरिएको निर्वाचन अधिकृत तथा प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभामा हाल विभिन्न सात राजनीतिक दलका गरी ११० जना प्रदेशसभाका सदस्य छन् ।
प्रदेशसभाको बैठक माघ २ गते
बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको उपसभामुख पदको निर्वाचन गर्न प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्कालाई निर्देशन दिए । आगामी माघ २ गते अपारह्न ३ बजे बस्ने बैठकमा उपसभामुख पदको निर्वाचनको लागि सभामुख पाठकले प्रुमख सचिव खड्कालाई समयतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए ।
सोही निर्देशनअनुसार, प्रदेशसभाका प्रमुख सचिव खड्काले उपभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनिक गरे । सार्वजनिक कार्यतालिका अनुसार, उपसभामुखको निर्वाचन माघ २ गते तोकिएको छ । नवनिर्वाचित सभामुख पाठकले शपथग्रहण लगत्तै प्रदेशसभा सचिवालयमा गई आफ्नो कार्यभार सम्हालेका छन् ।




















प्रतिक्रिया