Logo

राजनीति

जनतासँग पार्टीकाे सम्बन्ध स्थापित गर्न भ्रातृ संस्थाहरूको भूमिका महत्वपूर्ण : नेता महर



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई पदाधिकारी विनाको समिति बनाएर बाहिर ल्याउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै नेविसंघका पूर्वअध्यक्षसमेत रहेका महरले पदाधिकारी विनाको समिति निर्माण गर्नु विधान विपरित हुने बताए।

‘पार्टीमा नेताहरूलाई सबै पद चाहिने । तर, नेविसंघ, तरुणदल र महिला संघ जस्ता भ्रातृ संस्थामा अरुका लागि पद चाहिन्न भन्ने कुरा हुँदैन । यसले पार्टीलाई राम्रो गर्दैन । हिजो भ्रातृ र शुभेच्छुक संस्था अपडेट नभएकै कारण चुनावमा हामीले करिब सात लाख मत कम पाएका छौं’, उनले भने ।

जनता र पार्टीका बीचमा सम्बन्ध स्थापित गर्न भ्रातृ संस्थाहरूको भूमिका ठूलो हुने उनले बताए । ‘सबै समिति अपडेट भएका भए पार्टीका मुद्दा जनतामाझ वकालत गर्थ्यो। जनताका कुरा पार्टीलाई भन्थ्यौं । यसले जनता र पार्टीबीचको दूरी घट्न ठूलो मद्दत पुग्थ्यो । हामी त्यही अनुसारको नीति बनाएर अघि बढ्थ्यौं। यस पटक भ्रातृ संस्था ‘अपडेट’ नभएकै कारण पनि हामीले ठूलो क्षति व्यहोरेका छौं’, उनले भने ।

१० वर्षसम्म पनि पार्टीका भ्रातृ संस्थाको महाधिवेशन हुन नसक्नु दुखद भएको उनको तर्क छ । यसले गर्दा विभिन्न क्षेत्रको सक्षम नेतृ जाम भएको उनले बताए । पदाधिकारीसमेत नबनाएर पार्टीको ठूलो शक्तिलाई बहिर्गमन गर्ने कुरा जीवन्त पार्टीका लागि राम्रो नहुने उनको प्रस्टोक्ति छ।

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार १३:५३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।