धनगढी । सुदूरपश्चिम प्रदेश आज (शनिबार) पनि सभामुख पाउन असफल भएको छ । सभामुखका उम्मेदवार माओवादी केन्द्रका भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावल दुवैले निर्वाचित हुनका लागि आवश्यक ५१ प्रतिशत मत पाउन नसक्दा प्रदेशसभा सभामुख चुन्न असफल भएको हो ।
सत्ता गठबन्धनका नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद तटस्थ रहेपछि सकैको पक्षमा ५१ प्रतिशत मत नखसेको हो । सत्ता गठबन्धनको उम्मेदवार भण्डारीलाई सभामुख चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा जम्मा २२ मत पर्यो । ५३ सदस्यीय प्रदेशसभामा सभामुख निर्वाचित हुन कम्तीमा २७ मत ल्याउनुपर्छ ।
त्यस्तै नेपाली कांग्रेसका सभामुखका उम्मेदवार मानबहादुर रावलले पनि २२ मत पाए । सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयनका लागि यसअघि बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत पाए भने कांग्रेसका रावलले २३ मत पाएका थिए ।
सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् । प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।
सभामुख चयनका लागि मतदान हुुनुअघि नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले आफूहरुसँग सत्ता गठबन्धनले गरेको सहमति व्यहारतः कार्यान्वयन नभएकाले तटस्थ बस्ने जानकारी गराएका थिए । सोही अनुसार सभामुख निर्वाचनमा उक्त पार्टी तटस्थ बसेको हो ।




















प्रतिक्रिया