काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता विद्वान गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणअघि प्रमुख राजनीतिक दलहरूसँग संवाद गरी राष्ट्रिय हितका साझा एजेन्डा तय गर्न सुझाव दिएका छन्।
गुरुङले भारत भ्रमण नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै यस्तो भ्रमणलाई सरकारको औपचारिक भ्रमणमा मात्र सीमित नराखी राष्ट्रिय हितको प्रतिनिधित्व गर्ने भ्रमण बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले भारतसँगको सम्बन्ध सरकार–सरकारबीचको सम्बन्धमा मात्र सीमित नभई दुई देशका जनता, अर्थतन्त्र, सुरक्षा, व्यापार, ऊर्जा, पूर्वाधार र साझा भविष्यसँग जोडिएको विषय भएको बताएका छन्।
भारत भ्रमणअघि सीमा समस्या, व्यापार घाटा, नेपाली उत्पादनको भारतीय बजारमा पहुँच, जलविद्युत्, पारवहन, लगानी, रोजगारी तथा द्विपक्षीय सन्धि–सम्झौताका विषयमा स्पष्ट राष्ट्रिय दृष्टिकोण बनाउनुपर्नेमा गुरुङले जोड दिएका छन्।
प्रधानमन्त्रीले भ्रमणअघि नेपाली कांग्रेसलगायत प्रमुख राजनीतिक दल, कूटनीतिक विज्ञ तथा सम्बन्धित सरोकारवालासँग छलफल गरी साझा राष्ट्रिय एजेन्डा निर्माण गर्न सके नेपालको कूटनीतिक आवाज थप मजबुत हुने उनको भनाइ छ।
भारतसँग नेपालको सम्बन्ध मित्रता, आपसी सम्मान र पारस्परिक हितमा आधारित हुनुपर्ने उल्लेख गर्दै गुरुङले नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र आर्थिक हितलाई प्राथमिकतामा राखेर कूटनीतिक संवाद अघि बढाउनुपर्ने बताएका छन्।
उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई सरकारको मात्र नभई समग्र नेपालको राष्ट्रिय हितको प्रतिनिधित्व गर्ने भ्रमण बनाउनुपर्नेमा जोड दिँदै भ्रमणअघि संवाद, भ्रमणका क्रममा स्पष्ट एजेन्डा र भ्रमणपछि ठोस परिणाम आउनु नै सफल कूटनीतिको आधार भएको बताएका छन्।
गुरुङले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, “हामी भारतसँग राम्रो सम्बन्ध चाहन्छौँ, सम्मानजनक सम्बन्ध चाहन्छौँ र पारस्परिक हितमा आधारित सम्बन्ध चाहन्छौँ।”
उनको सुझावले प्रधानमन्त्रीको भारत भ्रमणलाई राष्ट्रिय सहमति, कूटनीतिक परिपक्वता र नेपालको दीर्घकालीन हितसँग जोडेर अघि बढाउनुपर्ने बहसलाई थप महत्व दिएको छ।




















प्रतिक्रिया