Logo

पत्रपत्रिका

‘सहमति जुटे प्रचण्ड सहजीकरण गर्न तयार’



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक पद बाँडफाँटमा सत्तारूढ दलबीच भएको सहमतिमा आफू दृढ रहेको बताउँदै ती पदमा दलबीच सहमति जुटे सहजीकरण गर्न तयार रहेको बताएका छन् ।

गत २६ पुसमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । विश्वासको मत दिने राजनीतिक दलसँग मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अघि बढ्न सकिन्छ वा सकिँदैन भन्नेबारे चासो राख्दै दलहरूको धारणा र सुझाव मागेका छन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका सूर्य किरणका अनुसार संवैधानिक पदमा हुने निर्वाचनमा सहमतिका साथ अघि बढ्न सकिन्छ कि सकिदैन रु भन्नेबारेमा प्रधानमन्त्रीको चासो रहेको छ । सत्तारूढ दलका बीचमा संवैधानिक पदमा भएको बाँडफाँटप्रति दृढ रहेको तर सहमतिका साथ अगाडि बढ्नसके आफूले सहजीकरण गर्न तयार रहेको उनले बैठकमा बताए ।

छलफलमा सहभागी नेपाली कांग्रेसले संवैधानिक पदहरूमा सहमति गरेर अगाडि बढ्नसकिने जवाफ दिएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति र सभामुखबारे छलफल गर्न आफ्नो पार्टी तयार रहेको कुरा सर्वदलीय बैठकमा राखेको बताए । बैठकपछि उनले बैठकमा कांग्रेस प्रमुख प्रतिपक्षी दल रहेको जानकारी गराएको दाबी गरे ।

‘प्रधानमन्त्रीले प्रतिनिधिसभामा रहेका सबै दललाई छलफलमा बोलाउनुभएको थियो । हामीले केही विषयमा आफ्नो धारणा राखेका छौं,’ लेखकले भने, ‘विश्वासको मत दिएकोमा उहाँले सबैलाई धन्यवाद दिनुभयो । सत्ता पक्ष र प्रतिपक्षकाबारेका कुरा भएको र कांग्रेस प्रमुख विपक्षी दलको नेताका रूपमा सभापति शेरबहादुर देउवा रहेको भनी हामीहरूले राखेका छौं ।’

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा पनि मिलेर जान सकिन्छ कि भनी प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेको जानकारी दिँदै लेखकले यी पदमा छलफल गर्न तयार रहेको भनी आफूहरूले जवाफ दिएको बताए ।

कांग्रेस नेता लेखकका अनुसार प्रधानमन्त्री प्रचण्डले यी संवैधानिक पदमा सहमति गर्न सकिने विषय बैठकमा राखेका थिए । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार ०७:५९   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।