Logo

राजनीति

कृषि, पर्यटन र उद्योगमा क्रान्तिकारी परिवर्तन आवश्यक : मुख्यमन्त्री गिरी



लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले नागरिकको जीवनस्तर माथि उकास्न कृषि, पर्यटन र उद्योगमा क्रान्तिकारी परिवर्तन आवश्यक रहेको बताएका छन् । मङ्गलबार पाल्पा रामपुर नगरपालिका १ र ३ मा पर्ने निस्दीखोलाको मसानेघाटमा निर्माण हुन लागेको पक्की पुलको उद्घाटन गर्दै ख्यमन्त्री गिरीले सडक, पुल, खानेपानी, सिँचाइलगायत आयोजनालाई सम्पन्न गर्दै प्रदेशका नागरिकको जीवनस्तर माथि उकास्न कृषि, पर्यटन र उद्योगमा धेरै क्रान्तिकारी परिवर्तन गर्नका लागि ठोस योजनाका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

नागरिकको जीवनस्तर माथि उकास्न प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास दिलाउँदै उनले प्रदेशले आफ्नो क्षेत्रका नागरिकका मागअनुसारका गौरवका योजनालाई प्राथमिकतामा राखेको उल्लेख गरे । कृषिलाई प्राथमिकता दिएर नयाँ तरिकाबाट आधुनिक प्रविधिको प्रयोग गरी आत्मनिर्भर बन्नुपर्ने बताउँदै मुख्यमन्त्री गिरीले उब्जाउ जमिनलाई सिञ्चितको व्यवस्था मिलाउन आफूले पहल गर्ने बताए ।

प्रदेश सरकारले केही महत्वपूर्ण योजना सुरु गरेको जानकारी दिँदै उनले रामपुरको बसपार्क र यससँग जोडिएका सडक र ढलको लागि हालसालै रु २४ करोड बराबरको बजेट विनियोजन गरिएको जानकारी दिए ।

प्रदेश सरकारको महत्वपूर्ण गौरवको योजनाको रुपमा रामपुर कपुरकोट सडक राखिएको र यसलाई तीव्रता दिन यस सडकसँग सम्बन्धित जिल्लास्थित कार्यालय प्रमुखलाई आवश्यक बजेट उपलब्ध गराउने भनेर निर्देशनसमेत दिएको मुख्यमन्त्री गिरीले बताए । रामपुरको महत्वपूर्ण सिँचाइ योजना ठाउँठाउँमा जीर्ण बनेकाले सिँचाइको मुख्य योजना नहरको विकास गर्दै सिँचाइको लागि थप बजेट व्यवस्थापन गर्ने उनले उल्लेख गरे ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार २१:२३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।