काठमाडाैं । राजनीतिज्ञहरुले जनताको विश्वास गुमाउन थालेकाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताका लागि अभियान सुरु गर्नुपर्नेमा जोड दिइएको छ । प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारणसभा उद्घाटन कार्यक्रमका वक्ताहरुले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणले देशको शिर निहुरिएकाले यो भ्रष्टाचार काण्डलाई ढाकछोप गर्न नहुने बताए । “यो भ्रष्टाचार काण्डलाई ढाकछोप गरियो भने देशकै अवस्था नाजुक हुन्छ, नेपालको सार्वभौमिकतामाथि धावा बोलेको यो मुद्दामा संलग्न कसैलाई पनि छोडिनु हुन्न, भ्रष्टाचारविरुद्ध नेपाल प्रहरीले अहिले देखाइरहेको तागत पछिसम्म पनि कायम राख्नुपर्छ”–उनले भने ।
युरोपबाट समानुपातिक निर्वाचन प्रणाली नक्कल गर्दा नेपालको राजनीतिमा समस्या देखिएको उल्लेख गर्दै नेता कोइरालाले त्यसमा पुनःविचार गर्ने बेला आएको बताए । नेपालको अर्थतन्त्र दयनीय अवस्थामा पुगेकाले त्यसको सुदृढीकरणका लागि राजनीतिक स्थिरता, सुशासनका लागि सबै दल एक हुनुपर्नेमा उनको जोड थियो । अबको निर्वाचनमा कांग्रेसले वडादेखि केन्द्रसम्म एक्लै निर्वाचन लड्ने भनाइ पनि नेता कोइरालाले सुनाए ।
कांग्रेसभित्र शुद्धीकरण गर्ने बेला आएको छ : महामन्त्री थापा
कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टी नेतालाई पनि कुनै अभियोग लाग्दा निलम्बन गरिनुपर्ने मत केन्द्रीय समितिमा राखेको बताए । “अनुहारमा दाग लागेका बेला ऐना पुछेर समस्या समाधान हुँदैन, पार्टीभित्र शुद्धीकरणका लागि काम गर्ने बेला आएको छ, यसमा प्रजातान्त्रिक विचार समाजको पनि साथ र सहयोग आवश्यक पर्छ, समाजले कांग्रेसको शुद्धीकराणका लागि आलोचनात्मक दबाब दिनुपर्छ”– उनले भने ।
निर्वाचनअघि सरकारमा जानकै लागि गठबन्धन गर्नु गल्ती भएको स्वीकार गर्दै महामन्त्री थापाले त्यसलाई रोक्न नसक्नुसमेत कमजोरी भएको बताए । निर्वाचन परिणाम आइसकेपछि सत्ता समीकरण बनाउनु नै स्वाभाविक हुने उनको भनाइ थियो ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले प्रजातान्त्रिक पद्दतिको रक्षाका लागि भ्रष्टाचारविरुद्ध सशक्त अभियान आवश्यक रहेको बताए । नक्कली भुटानी शरणार्थी प्रकरण राज्यसंयन्त्रको गठबन्धनमा गरिएको मानव तस्करी भएको उनले सुनाए ।




















प्रतिक्रिया