Logo

पत्रपत्रिका

शरणार्थी प्रकरण : बहस तन्किँदै, बुधबार आदेश आउने सम्भावना कति ?



काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने प्रकरणमा संलग्न अभियुक्तहरूलाई काठमाडौं जिल्ला अदालत समक्ष मुद्दाको किनारा लगाउने तीनवटा विकल्पहरू छन्।

ती हुन् – ‘थुनामा राख्ने, धरौटी वा साधारण तारेखमा छोड्ने ।’

जिल्ला अदालतमा ‘हेर्दाहेर्दै’ मा रहेको यो मुद्दामा न्यायाधीश प्रेमप्रसाद न्यौपानेले तर्क नदोहोर्‍याउन कानुन व्यवसायीलाई आग्रह गरिरहेका छन् । र, भनेका छन् ‘तपाईंहरू (कानुन व्यवसायी)ले सहयोग गर्नुहोस् । मंगलबारसम्म बहस सक्नुपर्छ ।’ पुर्पक्षको प्रक्रियामा प्रतिवादीको पक्षबाट कानुन व्यवसायीले घण्टौं समय बहसमा खर्चेका छन् । न्यायाधीश न्यौपानेलाई प्रतिवादी पक्षका कानुन व्यवसायीलाई कन्भिन्स गरी समय व्यवस्थापन गर्ने चुनौती देखिएको छ ।

तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डेलगायतको प्रतिरक्षामा कानुन व्यवसायीले बयानका आधारमा कसैलाई अभियोजन गर्न नमिल्ने जिकिर गर्दैे प्रतिरक्षा गरिरहेका छन् । पूर्वमहान्यायाधिवक्ता, वरिष्ठ अधिवक्ता, अधिवक्ताले इजलासमा आफ्नो पक्षलाई धरौटी तथा साधारण तारेखमा छोड्न तर्क गरिरहेका छन् । वादीतर्फका सरकारी वकिलहरूले पुर्पक्षको लागि अभियुक्तहरूलाई थुनामा राख्नुपर्ने तर्क गर्दै हदैसम्मको सजाय गर्नुपर्नेमा जोड दिएका थिए । अभियुक्तहलाई थुनामा नराखी छोडेमा प्रमाण नष्ट गर्ने र मुद्दाको निष्पक्ष सुनुवाइमा बाधा पुग्ने दाबी गरेका थिए । जाहेरवालाको तर्फबाट अन्य निजी अधिवक्ताले समेत बहस गरेका थिए ।

इजलासबाट मंगलबारसम्ममा बहस सक्न समय दिइएको छ । समयमै सकियो भने बुधबार आदेश आउला। तन्किँदै गएमा पछि पनि आउन सक्छ। आदेशको टुंगो छैन । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार ०९:२९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।