काठमाडौं । काठमाडौंका हलहरुमा शुक्रबारदेखि भारतीय फिल्म चल्न थालेका छन् । भारतीय फिल्मको प्रदर्शनलाई रोक नलगाउन पाटन उच्च अदालतले बिहीवार काठमाडौं महानगरलाई अल्पकालिन अन्तरिम आदेश दिएसँगै हल संचालकले यसअघि प्रदर्शन भैसकेको ‘जरा हट्के जरा बचके’लाई पुनः रिलिज गरेका हुन् ।
नयाँ फिल्म नभएपछि अदालतको आदेशलाई कार्यान्वयन गर्नको लागि सांकेतिकस्वरुप पुरानै फिल्मलाई पुनः रिलिज गरिएको चलचित्र संघले जनाएको छ । अदालतको आदेशपछि बिहीवार बेलुका बसेको संघको बैठकले भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
चलचित्र संघका प्रदर्शन सभापति प्रज्वल राणाले अदालतको आदेशलाई सम्मान गर्दै भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय संघको बैठकले गरेको बताए । पाटन उच्च अदालतले आगामी मंगलबार चलचित्र संघ र काठमाडौं महानगर दुबै पक्षलाई छलफलमा बोलाएको छ ।





















प्रतिक्रिया