Logo

शिक्षा

एसइईकाे नतिजा ४ बजे सार्वजनिक हुने



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल (नतिजा) ४ बजे प्रकाशन गर्ने भएको छ ।

अध्यक्ष डा महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा बसेको बोर्डको आज बसेको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ ।

विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्राप्ताकङ्क हुनेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी प्लस ग्रेड प्रदान गरिन्छ ।

साथै ६० देखि ७० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्ताङ्क हुनेलाई डी प्लस, २० देखि ३० प्राप्ताङ्क हुनेलाई डी तथा २० भन्दा कम प्राप्ताङ्क हुनेलाई ई ग्रेड प्रदान गरिन्छ ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।

परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले भाग लिएको बोर्डको भनाइ छ । बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार चार सय ६१ जना परीक्षार्थी थिए ।

कसरी हेर्ने नतिजा ?

एसईईको नतिजा विद्यार्थीले वेबसाइड, एसएमएस र आइभिआरबाट हसजै हेर्न सक्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको उनले बताए ।

१६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । यसैगरी नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np लगायतबाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १५:३२   :  बजे

567
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।