Logo

राजनीति

कांग्रेस बैठक : निर्वाचन प्रणाली परिवर्तनदेखि संघीयता खारेजीसम्मका माग



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आज (आइतबार) २५ जनाले धारणा राखेका छन् । गएको मंगलबारदेखि सुरु भएको बैठकको पाँचौं दिन आइतबार सहमहामन्त्री र केन्द्रीय सदस्यहरु गरी २५ जनाले बोलेका हुन् ।

आइतबारको बैठकमा सहमहामन्त्रीहरु फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियारले धारणा राखे ।

यस्तै केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा। शशांक कोइराला, चित्रलेखा यादव, अर्जुननरसिंह के।सी।, प्रवक्ता डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, एनपी साउँद, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, प्रदीपकुमार सुनुवार, विनोदकुमार चौधरी, भीम पराजुली र धना खतिवडाले बोले ।

पाँच दिनभित्रमा अधिकांश सदस्यहरुले बोल्ने क्रम सकिएको छ । बैठकमा बोल्ने क्रममा कतिपयले हालको मिश्रित निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष निर्वाचनमै सबै जाति, क्षेत्र समुदायको प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने, संघीय संसद सदस्यको संख्या घटाउनुपर्ने, संघीयताको विकल्प खोज्नुपर्ने र धर्म निरपेक्षता खारेज गर्नुपर्ने धारणा राखे ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले बैठकमा सांसद सदस्य घटाउनुपर्ने धारणा राखे । उनले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद संख्या घटाउनुपर्ने र त्यसका लागि संविधान संशोधनको अगुवाइ कांग्रेसले गर्नुपर्ने उनले धारणा राखे ।

समावेशीताका आधारमा प्रतिनिधि सभा २०१ सदस्यीय बनाउने र सबै प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनको मत छ । त्यस्तै राष्ट्रियसभा सदस्यको संख्या पनि ३५ मा झार्नुपर्ने पौडेलले बताए । हाल प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित गरी २७५ सदस्यीय छ । त्यस्तै राष्ट्रियसभा भने ५९ सदस्यीय रहेको छ ।

नेता शेखर कोइरालाले पनि निर्वाचन प्रणालीका विषयमा कांग्रेसभित्र छलफल आवश्यक रहेको बताए । केन्द्रीय सदस्य कोइरालाले प्रत्यक्ष निर्वाचन प्रणाली भित्रैबाट समानुपातिक र समावेशीको सुनिश्चितता गर्नुपर्ने भन्दै यसको पहल कांग्रेसले लिनुपर्ने बताए ।

केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले निर्वाचन प्रणालीमा गम्भीर छलफल आवश्यक रहेको बताए । प्रतिनिधिसभा प्रतिनिधिमूलक हुन सकेन भनेर मिश्रित निर्वाचन प्रणाली लागू गरिएको भन्दै उनले अहिलेको प्रतिनिधिमूलक चरित्र कायम राखेर नै प्रतिनिधिसभालाई २१० वा २१५ सम्म झार्न सकिने बताए ।

‘अहिलेको प्रतिनिधिमूलक चरित्रलाई बदल्ने होइन, गभर्नेन्समा समस्या भएको छ, त्यसकारण २७५ लाई २१०, २१५ बनाउने कोशित गरौं त्यसका आधारहरु छ, यस विषयमा बसेर छलफल गरौंला’ उनले भने ।

केन्द्रीय समितिमा सदस्यहरुले संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय पनि उठेको छ । केन्द्रीय सदस्य शंकर भण्डारीले संघीयता, धर्मनिरपेक्षता र निर्वाचन प्रणालीका विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका हुन् । २०४७ सालको संविधान पनि नेपाली कांग्रेसको नेतृत्वमा बनेको र २०७२ सालको संविधान पनि कांग्रेसकै नेतृत्वमा बनेको भन्दै भण्डारीले २०४७ मा जस्तो अहिलेको संविधानको स्वामित्व लिन नसकिने बताए ।

‘२०४७ सालको संविधान बनाउँदा जति अनरसिप थियो, यो संविधान हाम्रो नेतृत्वमा बन्दा त्यति अनरसिप छैन’ उनले संविधान दिवश मनाउने महामन्त्री गगन थापाको प्रस्तावको विरोध गर्दै भने, ‘यो संविधानमा संशोधन गर्नुपर्ने विषय छ । विवादास्पद विषयहरु छन्, यस्तो संविधानको दिवश मनाउन मिल्छ ?’

भण्डारीले संघीयतामा पनि समस्या देखिएको भन्दै विकल्प खोज्नुपर्ने मत राखे । ‘संघीय संरचनामा धेरै असन्तुष्टि देखियो । राष्ट्रिय सुरक्षाका हिसाबले पनि समस्या देखियो त्यसैले संघीयताको अर्को विकल्प खोज्नुपर्छ । निर्वाचन प्रणालीका बारेमा पनि पुनर्विचार गर्नुपर्छ’, उनले भने ।

अर्का केन्द्रीय सदस्य भीम पराजुलीले ९४ प्रतिशत ओमकार परिवार रहेकाले धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मको पक्षमा कांग्रेस उभिनुपर्ने बताए । ‘कांग्रेसले धर्म र संस्कृति विभाग छुट्टै गठन गर्नुपर्दछ’ उनले भने । केन्द्रीय सदस्य चन्द्रबहादुर केसी धार्मिक स्वतन्त्रता सहितको सनातन वैदिक राष्ट्रको पक्षमा पार्टी देखिनुपर्ने मत राखे ।

केन्द्रीय सदस्य तारामान गुरुङले प्रदेशको सरकार र सांसदलाई जनताले मन नपराएको बताए । ‘प्रदेशको सरकार र सांसद गाउँ गाउँ घर घरमा मन पराएको छैन । रुचाएको छैन’, उनले भने ।

सहमहामन्त्री महेन्द्र यादवले गठबन्धन गरेर पार्टीको आकार ठूलो बनाएको भन्दै सभापति देउवाको प्रंशंसा गरे । केन्द्रीय सदस्य पुष्पा भुसालले निर्वाचन प्रणालीका कारण चुनावअघि गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताइन् । ‘मिश्रित निर्वाचन प्रणाली अपनाउने, अनि गठबन्धनमा जान डराउने ?’ बैठकमा भुसालले भनिन्, ‘यो प्रणाली राखेर गठबन्धनको विरोध गर्नु हुँदैन । कि त अब मिश्रित निर्वाचित प्रणालीलाई प्रत्यक्ष तर्फ जाऔंं ।’

केन्द्रीय सदस्य शेखर कोइरालाले २०८४ सालमा गठबन्धन नगर्ने प्रण अहिले नै गर्नुपर्ने बताए । ‘२०८४ सालको चुनाव हामी एक्लै लड्छौं, स्थानीय सरकार, प्रदेश र केन्द्रमा हामी जित्छौं भन्ने प्रण गरौं भन्ने मलाइ लाग्छ’ उनले भने ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार २१:१३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।