काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति कोटामा अध्ययन गर्न आवेदनका लागि ३ दिन म्याद थप गरेको छ । शिक्षा विभागले सूचना जारी गर्दै आज (साउन १२ गते राती ११ः५९) सम्म दिइएको अवधि थप गरेको हो । यसपछि साउन १५ गते दिउँसो ३ बजेसम्म आवेदन दिन पाइने भएको छ ।
कागजपत्र मिलाउन समय लागेको, प्रमाण पत्र प्राप्त नभएको जस्ता कारण आफूहरु आवेदन दिनबाट बञ्चित भएको विद्यार्थीहरुले गुनासो गरेपछि ३ दिन म्याद थपिएको शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए । ‘धेरै विद्यार्थीहरुलाई आवेदन दिने अवसर उपलब्ध गराउन म्याद थपिएको हो ।’ कोइरालाले भने, ‘आवेदन दिने समय थप भए पनि परीक्षाको मिति भने परिवर्तन गरिएको छैन ।’
करिब ४ हजार ३ सय विद्यार्थीलाई उपलब्ध हुने छात्रवृत्तिका लागि अहिलेसम्ममा ५ हजार ७२८ जनाको आवेदन प्राप्त भएको छ । जसमा सबैभन्दा धेरै विज्ञान विषयका लागि छन् ।
आवेदन दिन चाहने विद्यार्थीले http://entrance.kathmandu.gov.np/ वेभ ठेगानामा गएर आवेदन दिन सक्नेछन् ।
छात्रवृत्तिका लागि विद्यार्थी छान्न परीक्षा लिइनेछ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १ सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिनेछन् । परीक्षा साउन २० गते विहान ११ बजेदेखि हुनेछ ।
आवेदक विद्यार्थीले सामुदायिक विद्यालयबाट एसईई पूरा गरेको भए प्रधानाध्यापकले व्यहोरा प्रमाणित गर्नु पर्दछ । संस्थागत (निजी) विद्यालयबाट एसईई उत्तीर्ण गरेको भए स्थानीय तहमा वडाध्यक्ष र विद्यालयका प्रधानाध्यापकले माध्यमिक तहमा छात्रवृत्ति प्राप्त गरेको व्यहोरा प्रमाणित गर्दै आरक्षित कोटामा छात्रवृत्ति पाउन शिफारिस गर्नुपर्छ । यी दुवै कागजपत्रका ढाँचा अनलाइनमा अनुसूची १ र २ गरेर राखिएका छन् ।
अनलाइनमा भरेका विवरण आफैँले हेर्न र सच्याउन मिल्ने गरी राखिएका छन् ।
अनलाइन आवेदन फाराम पेस गर्ने विधि
काठमाडौँ महानगरपालिकाको वेभसाइट www.kathmandu.gov.np वा http://entrance.kathmandu.gov.np/ मा छात्रवृत्ति आवेदन फाराम उपलब्ध छ । यसबाट साउन १२ गते राती ११ बजेर ५९ मिनेटसम्म आवेदन दिन सकिनेछ ।
फाराम भर्दा चाहिने कागजपत्र स्क्यान गरेर वा फोटो सम्लग्न गर्नुपर्छ । यसरी पेश गर्नु पर्ने कागजातमा एसईईको प्रवेश पत्र, मार्कसिट र चारित्रिक प्रमाण पत्र पेश गर्नुपर्छ । हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकता वा जन्म दर्ताको प्रमाण पत्रसँगै अनुसूचीमा राखिएका शिफारिस पेश गर्नुपर्छ ।
तोकिएको आरक्षित समूहमा फाराम भर्नेले आरक्षणको प्रमाण पत्र पेश गर्नुपर्छ ।
पेश भएका विवरणहरु झुठो ठहरिए त्यस्ता उम्मेदवारहरूको आवेदन फाराम रद्द हुनेछ । भर्ना भइसकेपछि जानकारी भए भर्ना रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्काशन गरिनेछ ।
फाराम भर्न चाहिने विवरण
अनलाइन फाराम भर्दा एसईई प्रवेश पत्रको विवरण भरेपछि मात्र मुख्य फारम खुल्नेछ । विवरण गलत भए फारम खुल्दैन । मुख्य पेजमा आफूसँग सम्बन्धित विवरणहरू माग गरिएअनुसार भर्नु पर्नेछ । माग गरिएका सवै विवरणहरू भरे पश्चात स्वघोषणा स्वीकार (सेल्फ डिक्लियरेसन स्टेटमेन्ट एसेप्ट) गर्नु पर्छ । यसो नगर्दासम्म फाराम सुरक्षित (सेभ) हुँदैन ।
फाराम सुरक्षित (सेभ) गर्दा त्रुटी भएमा, विवरण भर्न छुटेमा वा मागअनुसारको विवरण नभएका ठाउँहरूमा रातो अक्षरले दर्शाएको हुन्छ । यी विवरणहरू सच्याएर फेरि माथिबाटै सबै विवरण रुजु गरेर फारम भर्नु पर्छ । एकपटक फारम भरेर सुरक्षित (सेभ) गरे पछि फारम पेश (समिट) नगर्दासम्म जति पटक पनि सच्याउन सकिन्छ ।
आफ्ना सबै विवरणहरू भरि सकेर सुरक्षित (सेभ) गरेपछि अर्को पेजमा आफूले भरेको एकमुष्ट विवरण देखिनेछ । यो पेजमा माथिबाट सबै विवरण पढेर सही भए नभएको जाँच गर्नुपर्छ । सही नभएमा पेजको माथि दिइएको संशोधन गर्ने बटन (इडिट बटन) मा क्लिक गरेर सच्याउन सकिन्छ । आफूले भरेको विवरण ठिक भएमा पेश गर्ने बटन (समिट बटन) मा क्लिक गर्नुपर्छ ।
यो बटनमा थिचेपछि सुनिश्चित गर्ने बक्स (कन्फरमेसन बक्स) आउँछ । आफूले भरेको विवरण सही भएमा ठिक बटन (ओके बटन) मा थिच्नुपर्छ । फारम अनलाइन पेस (फम समिट) भएपछि कुनै पनि विवरण सच्याउन सकिँदैन ।
आवेदन फारम अनलाइन पेस (फर्म समिट) भएपछि सुनिश्चित गर्ने (कम्फरमेसन) पृष्ठ देखिनेछ । यो पेजलाई प्रिन्ट गर्न र डाउनलोड गर्न सकिन्छ ।
यो पेज अनलाइन फारम भरेको प्रमाण हो ।
आवेदन दिन योग्यता र छनोट प्रक्रिया
छात्रवृत्तिमा आवेदन दिन एसईईमा न्युनतम १.६ जीपीए ल्याएको हुनु पर्नेछ । सामुदायिक विद्यालयबाट एसईई पूरा गरेको भए प्रधानाध्यापकले व्यहोरा प्रमाणित गर्नु पर्छ । संस्थागत (निजी) विद्यालयबाट उत्तीर्ण गरेको भए स्थानीय तहमा वडाध्यक्ष र विद्यालयका प्रधानाध्यापकले माध्यमिक तहमा छात्रवृत्ति प्राप्त गरेको व्यहोरा प्रमाणित गर्दै आरक्षित कोटामा छात्रवृत्ति उपलब्ध गराउन शिफारिस गर्नुपर्छ ।
छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४०%, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५%, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९%, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ ।
बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३%, आदिबासी र जनजातिलाई १५%, मधेसीलाई १२%, खसआर्यलाई १७% आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिनुभयो । उहाँकाअनुसार दलितलाई ९%, मुस्लिमलाई २%, थारुलाई ४%, अपाङ्गता भएको व्यक्तिलाई २%, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४%, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २% छात्रवृत्ति दिइनेछ । पिछडिएको क्षेत्रका व्यक्तिका रुपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिनेछ ।
आरक्षण क्षेत्रमा तोकिएबमोजिमको संख्यामा विद्यार्थी उपलब्ध नभएमा काठमाडौँ महानगरवासीलाई प्राथमिकता दिइनेछ । बैकल्पिक तथा धार्मिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई सामुदायिक विद्यालय सरह मानिनेछ ।
पेश गर्नुपर्ने सिफारिस
आरक्षित समूहमा उम्मेदवार हुन चाहने व्यक्तिले आफू सो समूहमा पर्ने व्यहोरा प्रमाणित हुने कागज पेश गर्नु पर्नेछ । सहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, घाइते योद्धाको परिवार र द्वन्द्व पीडित समूहका व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट शिफारिस प्राप्त गर्नुपर्छ । अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका व्यक्तिले बसोबास भएको स्थानीय तहको वडा कार्यालयबाट शिफारिस लिनुपर्छ ।
पिछडिएको क्षेत्रका व्यक्तिले सम्बन्धित स्थानीय तहको सिफारिस पेश गर्दा दरखास्त दिंदाका बखत निज सोही स्थानमा स्थायी बसोबास गरेको भनी प्रमाणित गरेको हुनु पर्नेछ । त्यस्तो व्यक्तिले सम्बन्धित जिल्लाबाट प्राप्त गरेको नेपाली नागरिकता पेश गर्नुपर्छ । नागरिकता नभए जन्म दर्ताको प्रमाणपत्र पेश गर्नु पर्छ ।
घाइते वा अपाङ्गता भएका व्यक्तिले आवश्यक अन्य सिफारिसको अतिरिक्त दर्तावाल चिकित्सकबाट निज सो विषय अध्ययन गर्न सक्षम भएको व्यहोरा सहितको सिफारिस आवेदन साथ पेस गर्नु पर्छ ।





















प्रतिक्रिया