चिकित्सा शिक्षा आयोगको कारण प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालित २ सय २८ शिक्षण संस्था बन्द भएका छन् । ती संस्था बन्द भएका कारण करिब १५ अर्ब रुपियाँ क्षति भएको बताइएको छ ।
आयोग र सीटीईभीटीको द्वन्द्वका कारण कलेज बन्द भएपछि चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिले आन्दोलन गर्ने चेतवानी दिएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार चिकित्सा शिक्षा आयोग गठन भएदेखि हालसम्म प्रि–डिप्लोमा तहका स्वास्थ्य विषयका १ सय ३७, डिप्लोमा तहका (स्टाफ नर्स) ७३ , स्नातक तह (बीएन)का १० र बीएस्सी नर्सिङका ८ गरी २ सय २८ वटा शिक्षण संस्था बन्द भएका हुन् ।
सञ्चालित कलेजहरूको चिकित्सा, इन्जिनियरिङ, कृषिलगायत सबै तहको प्रवेश परीक्षा र छात्रवृत्ति परीक्षा स्थगित भएपछि परीक्षाको प्रतिक्षामा रहेका करिब ४३ हजार विद्यार्थीको भविष्य अन्योल भएको छ । आयोगले चिकित्सा तर्फको परीक्षा मात्र स्थगित गरेको हो ।
सीटीईभीटीका सदस्यसचिव काफ्लेको जोडबलमा पछिल्लो समय सिट निर्धारण र भर्ना खोलेका स्वास्थ्य सम्बन्धित ४९ कलेजको कारण सबै परीक्षा स्थगित भएको हो ।
सीटीईभीटीले स्वास्थ्यबाहेक अन्य विषयमा प्रवेश परीक्षा सञ्चालन गर्न रोक लगाएपछि अन्य विषयका विद्यार्थीलाई समेत समस्या भएको छ । चिकित्सा तर्फका करिब १३ हजार विद्यार्थी हुन्छन् । बाँकी करिब ३० हजार विद्यार्थीले अन्य विषयमा प्रवेश परीक्षा दिन्छन् ।
सीटीईभीटीको लहडका कारण अन्य विषयमा परीक्षा हुन नदिएको कलेज सञ्चालकले आरोप छ । स्वास्थ्यबाहेक अन्य विषयको परीक्षा सञ्चालन गरे सदस्य सचिव काफ्ले थप समस्यामा पर्ने भएपछि सबै विषयको परीक्षा एकैसाथ लिने तयारी गरेको हो ।
सीटीईभीटीका परीक्षा समितिका संयोजक एवं उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले दुई पटक परीक्षा सञ्चालन गर्दा खर्च बढ्ने भएकोले एकैपटक परीक्षा गर्न लागेको तर्क गर्दै भने ‘आयोगले चिकित्सा तर्फको प्रवेश परीक्षा स्थगित गरे सबै विषयका परीक्षा रोकिने छ ।’ चिकित्सा बाहेकका विद्यार्थीलाई पढ्नबाट बञ्चित बनाएपछि कलेज सञ्चालकहरू आक्रोशित भएका छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।





















प्रतिक्रिया