भक्तपुर । भक्तपुरको सानोठिमीमा नेपाल सरकारको सहयोगमा सञ्चालनमा रहेकाे युसेफ नेपाल नामक गैरसरकारी संस्थाद्धारा ०५८ सालदेखि सञ्चालनमा रहेको बाल सुधार गृह ताेडफाेड गरेर बालबालिकाहरु भागेका छन् ।
भक्तपुर प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार सोमबार दिउँसो सुधार गृह तोडफोड गरेर डेढ सय जना जति बालबालिका भागेका हुन्। विभिन्न अपराधमा संलग्न भएका तर उमेर १८ वर्षभन्दा मुनि रहेकाहरूलाई अदालतको आदेशपछि सुधार गृहमा राख्ने गरिन्छ। सशस्त्र र जनपथ प्रहरीलाई समेत आक्रमण गरेर उनीहरु भागेका हुन् । सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना बालबालिका रहेकाे जनाइएकाे छ । तीमध्ये २५६ जना पुरुष थिए ।
प्रहरीकाअनुसार लगभग तीन सय बालबालिका सुधार गृहमा रहेकाेमा आधाजति सुधार गृह ताेडफाेड गरेर भागेका हुन् । उनीहरूले सुधार गृहभित्र आफूहरूलाई खानपिन, स्वास्थ्य परीक्षण राम्रो नभएको आराेप लगाएर ताेडफाेड गरी भागेकाे प्रहरीले जनाएकाे छ। केहीलाई काठमाडाैंमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । केहीलाई पक्राउ गरी बानेश्वर प्रहरी वृतमा राखिएकाे प्रहरीले जानकारी दिएकाे छ । प्रहरीले अन्यकाे खाेजी गरिरहेकाे छ ।
सुधार गृहमा रहेका रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको आइतबार मृत्यु भएपछि त्यहाँ तनाव सुरू भएको थियो। बलात्कार अभियोगमा दोषी ठहर भएका बस्नेत तीन वर्षदेखि सुधार गृहमा थिए। शनिबार राति बेहोस भएका बस्नेतलाई आइतबार बिहान उपचारका लागि भक्तपुरस्थित नागरिक अस्पताल लगिएको थियो। अस्पतालले केहीबेरमै मृत घोषणा गरेको थियाे ।
बालकको मृत्यु भएपछि सुधार गृह परिसरमा उनका आफन्तले प्रदर्शन गरेका थिए। उनीहरूले सुधार गृहको लापरवाहीका कारण कमलको मृत्यु भएको आरोप लगाएका छन्। आफन्तले कुटपिटबाट बालककाे मृत्यु भएकाे आराेप लगाएका छन् । मृतक कमल बस्नेतको शव पोष्टमर्टमको लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ।





















प्रतिक्रिया