Logo

प्रमुख समाचार

६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ, अहिलेसम्म कति समातिए ?



काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको हाे ।

हङकङबाट ‘रेडी ट्रेड प्रालि’को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । सो सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याइएको हो ।

उनको संलग्नताबारे प्रहरीले बताएको छैन । पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

बरामद सुन संगठित तरिकाले तस्करी भएको भन्दै राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो । ब्यूरोले अनुसन्धान सुरु गरेपछि चिनियाँ नागरिक बस्ने डेरा र गोदाम सहित १० ठाउँमा छापा मारिएको अनुसन्धान संलग्न एकजना अधिकृतले बताए ।

सुन तस्करीबारे अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको छ । बज्राचार्य सीआईबीकी निर्देशक हुन् ।

समितिमा विशेष ब्यूरोका डीआईजी रामदत्त जोशी र एसपी कृष्ण कोइराला सदस्य छन् । धनकुटामा कार्यरत प्रहरी उपरीक्षक कोइरालालाई संगठित अपराध अनुसन्धानमा जानकारको रूपमा  अनुसन्धान गर्न बोलाइएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १३:१२   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।