काठमाडाैं । सुन तस्करी प्रकरणलाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलित भएक छन् । भेपमार्फत् ९ किलो सुन तस्करी र भन्सार जाँचपास भई गएको ६० किलो सुन तस्करी प्रकरणमा आफ्ना सहकर्मी पक्राउ गरेको विरोधमा उनीहरुले आइतबार (भदौ २४ गते)देखि सुरु गरेका हुन् ।
आइतबार नै विज्ञप्ति जारी गर्दै उनीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । आइतबार उनीहरूले ३ घण्टा पेन डाउन गरेर विरोध जनाएका थिए । आन्दोलनका क्रममा उनीहरुले आज (सोमबार) कार्गो जाँचपास बन्द गराएका छन् ।
कर्मचारीहरूले विमानस्थलका प्रमुख भन्सार प्रशासकलाई सम्बोधन गरी लेखेको पत्रमा असल नियतले गरेको कामलाई पनि अपराध भन्दै धरपकड गरी हतोत्साहित पार्न खोजिएको आरोप लगाएका छन् । भन्सार ऐन, २०६४ को दफा ६६ मा रहेको ‘कुनै भन्सार कर्मचारीले आफ्नो कर्तव्य पालनको सिलसिलामा असल नियतले गरेको कामकारबाही प्रति निज व्यक्तिगत रूपमा जबाफदेही हुनेछैन’ भनिए पनि सुन प्रकरणमा व्यक्ति विशेषलाई जबाफदेही बनाइएको भन्दै कर्मचारीले आपत्ति जनाएका छन् ।
कर्तव्य पालनाको क्रममा खटिएका कर्मचारीलाई धरपकड गरी दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गर्ने काम गरेको भन्दै कर्मचारीको मनोबल गिरेको र आत्मसम्मानमा ठेस पुगेको कर्मचारीको गुनासो छ । प्रहरी र अन्य निकायबाट निरन्तर हस्तक्षेप र धरपकड भएको भन्दै उक्त कार्य पूर्णरुपमा बन्द नभएसम्म कार्यालयको दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको कर्मचारीले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।
सोही सम्बन्धमा विमानस्थल भन्सारका कर्मचारीले गत भदौ १२ गते गते नै भन्सार विभागका महानिर्देशकलाई सम्बोधन गरी सामूहिक सरुवाका लागि आग्रह गरेका थिए ।
















प्रतिक्रिया