Logo

खेलकुद

विश्वकप क्रिकेट : च्याम्पियन्स ट्रफी खेल्ने उद्देश्यसहित नेदरल्यान्ड्स आज भारतसँग भिड्दै



काठमाडाैं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप–२०२३ को पहिलो चरणको अन्तिम खेलमा आइतबार शीर्ष टाेली भारतले उपाधि होडबाट बाहिरीसकेकाे नेदरल्याण्डसँग खेल्दै छ । प्रतियोगिताको नवौँ चरणको याे अन्तिम खेल बेंगलौरस्थित एम चिन्नास्वामी स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

आयोजक भारत जारी विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र हो भने नेदरल्यान्ड्स यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको टोली हो । जारी विश्वकपमा भारत सबैभन्दा बलियो टोलीका रूपमा देखिएको छ । यसअघि खेलिएका आठ वटै खेलमा जित हात पारेको भारत १६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसिएट्स सदस्य नेदरल्यान्ड्स भने आठ खेलबाट चार अंक जोड्दै तालिकामा सबैभन्दा तल छ ।

भारत र नेदरल्यान्ड्सबिच आइतबार खेलिने खेलले जारी विश्वकपको सेमिफाइनल समीकरणमा पनि कुनै असर पार्ने छैन । भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्ड यसअघि नै क्रमशः पहिलोदेखि चौथो हुँदै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतियोगिताको सेमिफाइनलमा भारतले न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले अस्ट्रेलियाको सामना गर्ने टुङ्गो पनि लागिसकेको छ । त्यसले आइतबारको खेलले यो विश्वकपको सेमिफाइनल समीकरणमा कुनै असर पार्ने अवस्था छैन ।

तर, नेदरल्यान्ड्सका लागि भने भारतविरुद्धको यो खेल निकै महत्त्वपूर्ण छ । यो खेलमा भारतलाई हराउन सके नेदरल्यान्ड्सले सन् २०२५ मा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफी खेल्न अवसर पाउने छ ।

जारी विश्वकप तालिकाको पहिलोदेखि सातौँ स्थानसम्म आउने टोलीले च्याम्पियन्स ट्रफी खेल्न पाउने प्रावधान राखिएको छ । च्याम्पियन्स ट्रफीको आगामी संस्करण पाकिस्तानमा आयोजना हुनेछ । त्यसैले पाकिस्तानले आयोजकको हैसियतले नै त्यो प्रतियोगिता खेल्ने अवसर पाउने छ ।

तर, पाकिस्तान जारी विश्वकप तालिकाको पाँचौँ स्थानमा छ । त्यसैले पाकिस्तानको स्थानमा अर्को एक राष्ट्रले च्याम्पियन्स ट्रफीमा सहभागिता जनाउने अवसर पाउने छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आईतवार १०:३८   :  बजे

222
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।