Logo

आजको तस्बिर

आन्दोलनको रापले तातिरहने माइतीघर आज यसरी शान्त देखियो (फोटो फिचर)



काठमाडौं । माइतीघर मण्डलाको आफ्नै इतिहास छ। राज्यलाई आफ्ना मागको सुनुवाई गर्न झकझकाउन कुनै न कुनै समूहले माइतीघरमा आन्दोलन गरिनै रहेका हुन्छन्।

तर, आज माइतीघर सादाको जस्तो छैन। आन्दोलनकारीले सडक अवरुद्ध हुँदा जाम हुने माइतीघरको आवागमन थोरै खुकुलो देखिएको छ।

आन्दोलनका व्यान वा फिता भिरेका कुनै समूह छैनन्। आन्दोलन हबका रुपमा परिचित माइतीघर आज शान्त छ, भेल नमिसिएको खहरे जस्तै।

यसरी माइतीघर शान्त हुनुको कारण हो सरकारले जारी गरेको निषेधाज्ञा।

मंसिर ७ लाई लक्षित गरेर दुई समूहले आन्दोलन/प्रदर्शनको तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले सम्भावित मुठभेटलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको छ। त्यसैले माइतीघर क्षेत्रमा धर्ना गर्न पाइँदैन। त्यहाँ धर्नामा रहेका आरती शाहलगायत अन्य समूह/व्यक्तिहरूलाई शान्ति बाटिकामा सारिएको छ।

अहिले माइतीघरमा निषेधित क्षेत्र लेखिएको ब्यानर टाँसेर बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्रका रूपमा घोषणा गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार सोमबारदेखि लागु हुनेगरी ३० दिनका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको उल्लेख छ। सो क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी भेला हुन जुलुस र प्रदर्शन गर्न रोक लागेको छ।

स्थानीय प्रशासनका अनुसार निषेधित क्षेत्रमा पद्यमोदयमोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतिर तथा बबरमहल, बिजुलीबजार र नयाँ बानेश्वरचोकसम्मलाई निषेधित क्षेत्र तोकिएको छ। निषेधित क्षेत्र घोषणा भएपछि आन्दोलनको केन्द्र बन्ने गरेको माइतीघर यति बेला सुनसान बनेको छ।

तस्बिरहरु :

 

 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १३:२६   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।