तपाईंलाई ओछ्यानबाट उठ्नेबित्तिकै चक्कर लाग्ने, आँखाअगाडि अँध्यारो देखिने वा बेहोस हुन लागेजस्तो महसुस हुन्छ र यस्तो समस्यालाई सामान्य कमजोरी वा थकान ठानेर बेवास्ता गरिरहनुभएको त छैन रु चिकित्सकका अनुसार यसको एउटा कारण पोस्टुरल हाइपोटेन्सन हुन सक्छ।
पोस्टुरल हाइपोटेन्सनलाई अर्थोस्टेटिक हाइपोटेन्सन पनि भनिन्छ। यो समस्या हुँदा लामो समय बसेपछि वा सुतेपछि अचानक उठेर उभिँदा रक्तचाप ब्लड प्रेसर एक्कासि घट्छ। त्यसका कारण चक्कर लाग्ने, आँखा धमिलो हुने, आँखाअगाडि अँध्यारो छाउने र कतिपय अवस्थामा बेहोससमेत हुन सकिन्छ।
धेरै मानिसले यस्तो अवस्थालाई सामान्य कमजोरी सम्झेर बेवास्ता गर्छन्। तर, बारम्बार यस्तो समस्या देखिनु स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छ।
किन अचानक घट्छ रक्तचाप
स्वास्थ्य विशेषज्ञका अनुसार मानिस उभिँदा गुरुत्वाकर्षणका कारण शरीरको केही रगत खुट्टा र पेटको तल्लो भागतिर जम्मा हुन थाल्छ।
सामान्य अवस्थामा शरीरले रक्तनली खुम्च्याएर र मुटुको धड्कनमा आवश्यक परिवर्तन गरेर रक्तचाप सन्तुलित राख्छ। तर, शरीरले यस्तो सन्तुलन कायम गर्न नसक्दा रक्तचाप घट्न पुग्छ। यही अवस्थालाई पोस्टुरल हाइपोटेन्सन भनिन्छ।
चिकित्सकीय मापदण्डअनुसार उभिएको तीन मिनेटभित्र माथिल्लो रक्तचाप ९सिस्टोलिक० २० एमएमएचजी वा तल्लो रक्तचाप ९डायस्टोलिक० १० एमएमएचजी वा त्योभन्दा बढी घटेमा पोस्टुरल हाइपोटेन्सन भएको मानिन्छ।
पोस्टुरल हाइपोटेन्सन हुनुका कारण
यस समस्याका विभिन्न कारण हुन सक्छन्। मुख्य कारणहरू यस्ता छन् स्
- शरीरमा पानीको कमी हुनु डिहाइड्रेसन।
- रक्तचाप घटाउने केही औषधिको सेवन।
- मधुमेह तथा नसासम्बन्धी समस्या।
- पार्किन्सनजस्ता स्नायु प्रणालीसम्बन्धी रोग।
- शरीरमा रगतको कमी हुनु।
- मुटुसम्बन्धी समस्या।
- लामो समयसम्म ओछ्यानमै आराम गरेर बस्नु।
कस्ता जोखिम निम्तिन सक्छन् बारम्बार रक्तचाप घट्दा चक्कर लाग्ने र बेहोस हुने समस्या देखिन सक्छ। अचानक लड्दा टाउकोमा चोट लाग्ने, हड्डी भाँचिने तथा अन्य गम्भीर चोटपटकको जोखिम बढ्छ।
गम्भीर अवस्थामा शरीरका विभिन्न अंगमा पर्याप्त रगत नपुग्ने समस्या पनि हुन सक्छ। केही व्यक्तिमा यो अवस्था मुटुसम्बन्धी जोखिमसँग समेत जोडिएको पाइएको छ।
कसरी बच्ने
पोस्टुरल हाइपोटेन्सनको जोखिम कम गर्न केही सामान्य सावधानी अपनाउन सकिन्छ।
- ओछ्यानबाट एक्कासि नउठ्ने। पहिले बिस्तारै बसेर केही समयपछि उभिने।
- शरीरमा पानीको कमी हुन नदिने र पर्याप्त पानी पिउने।
- लामो समय एउटै अवस्थामा बसेपछि वा सुतेपछि बिस्तारै शरीरको अवस्था परिवर्तन गर्ने।
- रक्तचाप घटाउने औषधि सेवन गरिरहनुभएको छ भने चिकित्सकसँग परामर्श गर्ने।
- बारम्बार चक्कर लाग्ने वा बेहोस हुने समस्या भए स्वास्थ्य परीक्षण गराउने।
कहिले चिकित्सककहाँ जाने
कहिलेकाहीँ उठ्दा सामान्य चक्कर लागेर आफैँ ठीक हुन सक्छ। तर, पटक–पटक यस्तो समस्या देखिएमा बेवास्ता गर्नु हुँदैन। बेहोस हुने, लड्ने, छाती दुख्ने वा सास फेर्न गाह्रो हुने अवस्था आएमा तत्काल स्वास्थ्य सेवा लिनुपर्छ।
विशेषगरी मधुमेह, मुटु तथा स्नायु प्रणालीसम्बन्धी समस्या भएका व्यक्तिले यस्तो लक्षणलाई गम्भीरतापूर्वक लिन आवश्यक छ।
उठ्नेबित्तिकै चक्कर लाग्नु सामान्य कमजोरी मात्रै नहुन सक्छ। त्यसैले लक्षण दोहोरिएमा कारण पहिचान गरी समयमै उपचार गराउनु महत्वपूर्ण हुन्छ।





















प्रतिक्रिया