Logo

आजको तस्बिर

शान्तिपूर्ण प्रर्दशन र धर्ना दिने ठाउँमा बन्देज लगाउँदै जिप्रका काठमाडौं, पीडितहरूले गरे विराेध [तस्बिरहरू]



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्तिबाटिकामा पनि आन्दोलनको कार्यक्रम गर्न नपाउने गरी रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्तिबाटिकामा धर्ना दिँदै आइरहेका मिटरब्याज पीडितहरु र आरती साहका आमाबुबालाई समेत शान्तिबाटिकाबाट हटाउन लागेको हो ।

प्रहरी वृत्त दरबारमार्गका डिएसपीकाे टाेलीले बिहीबार पीडितहरुलाई ठाँउ खाली गराउन आदेश दिएकाे थियाे । प्रहरीले उनीहरुलाई शान्तिबाटिकाबाट हटाउन लागेपछि पीडितहरुले प्रदर्शन गरेका छन् । आज बिहान उनीहरुले शान्तिबाटिकामा प्रदर्शन गरेका थिए। सीडी‌ओ कार्यालयले माइतीघरमा समेत आन्दाेलन गर्न नपाउने गरी निषेधाज्ञा लगाएकाे छ ।

शान्तिपूर्ण प्रर्दशन गर्ने लोकतान्त्रिक परिधीमा निषेधाज्ञा लगाएर सरकारले अधिनायकवादी चरित्र देखाइरहेको उनीहरुको आरोप छ । यस्तै मिटर ब्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समितिले विज्ञप्ति जारी गरेको छ । शान्तिपूर्ण आन्दोलन गरिरहेको पीडितहरुलाई हटाएर सरकार सुदखोरको प्रभावमा परेको आरोप उनीहरुको छ ।

मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपाल विगत ३८ महिनादेखि निरन्तर आन्दोलनरत छ । गत चैत्रको २० गतेदेखि काठमाडौं स्थित शान्तिवाटिकामा निरन्तर धर्ना दिएकाे संघर्षसमितिले अहिले पनि मिटर ब्याज विरुद्ध गृहमन्त्रालयको ध्यानाकर्षका लागि जनसंघर्षका कार्यक्रमहरु गरिरहेकाे छ ।

विज्ञप्तिमा भनिएको छ,‘हामीले आफ्ना मागहरुलाई ६ बुँदामा तयार गरेका थियौं । ती ६ बुँदे मागसहित वार्तामा बसेका थियौँ । तर सरकार पक्षले मिटर ब्याज समस्याको यथोचित समाधानका लागि सकारात्मकता नदेखाएपछि हामीले वार्ता भङ्गको घोषणा गरी संघर्षलाई निरन्तरता दिएका हौं । विभिन्न ४२ जिल्लामा हाम्रो संघर्षको कार्यक्रम निरन्तर चलिरहेको छ । केन्द्रिय अभियानको रुपमा काठमाडौँ स्थित शान्तिवाटिकामा धर्ना भइरहेको छ ।’

तस्बिरहरू : 

  

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १२:३०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।