काठमाडौं- प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथमा शतबीज छरिएको छ।
आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार झिसमिसेमै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका हुन्।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन्।
पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्छन्।
श्रद्धालु चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्छन्। शतबीजमा धान, जौ, गहुँ, चना, तिल र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो,अमला आदि फलका र विभिन्न किसिमका फूल हुन्छन्।
भगवान् शिव मृगरूप लिएर घुमेको विश्वास गरिने पुण्यक्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्।



















प्रतिक्रिया