Logo

प्रमुख समाचार

घाममा बसेर उठ्दा किन लाग्छ रिंगटा?



घाममा बसेर उठ्दा रिंगटा लाग्ने वा बेहोस् हुने समस्या हुन सक्छ। आजभोली चिसोको मौसम छ। यो समयमा हामीहरू न्यानोका लागि घाममा बस्ने गर्छौं। घाममा मात्र नभएर आगो ताप्दा वा हिटर ताप्दा पनि मानिस बेहोस् भएको खबर हामीले सुन्ने गर्छौं। घाम, आगो वा हिटर तापेर बस्दा हाम्रो शरीरमा कस्तो परिवर्तन आउँछ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ। तातोले हाम्रो शरीरमा रगत प्रवाहित हुने नलि फराकिलो हुन्छन्।

जस्तो पानी बगिरहेको पाइपलाई साघुरो बनाउँदा फोर्स बढ्छ, फराकिलो बनाउँदा प्रेसर घट्छ। त्यसैले हामीले आगो, घाम वा हिटर ताप्दा न्यानोले हाम्रो शरीरको विशेष गरेर खुट्टा तिरको नलिहरू फराकिलो गरिदिन्छ। त्यसो हुँदा रक्त प्रवाह खुट्टातिर बढी आउँछ। जता नलि बढी फराकिलो भयो, रक्तसञ्चार पनि त्यतै बढी हुने हो। यस्तो समयमा व्यक्ति उठ्दा रगत बढी खुट्टामा हुन्छ। ब्रेनमा रगत आउनु पर्ने भएन भने अलिकति रिगटा लागे जस्तो हुन्छ। एकदमै रगत कम भयो भने मानिस लड्छ। र, केही समयका लागि बेहोस् हुन्छ।

मेडिकल भाषामा हामी यस्लाई पोश्चुलर हाइपरटेन्सन भन्छौं। पोश्चुलर हाइपरटेन्सनका कारण ब्लड प्रेसर घट्छ। पोश्चुलर हाइपरटेन्सर प्राय एजेट मान्छेमा हुन्छ। प्रेसरको औषधि खाइरहेका मान्छेलाई त्यस्तो जोखिमको सम्भावना बढी हुन्छ। दीर्घ रोगका बिरामीमा यो समस्या बढी हुने जोखिम हुन्छ। उनीहरूमा नेचुलर डिफेन्स मेकानिजम कमजोर हुन्छ। नेचुलर डिफेन्स मेकानिजम भनेको के हो भने हामी सुतेको अवस्थाबाट उठ्दा केही समयका लागि रक्तसञ्चार बढेर दिमागतिर पनि आउँछ। हामीलाई केही महशुस हुँदैन।

युवालाई केही बेर घाममा बसेर उठ्दा गाह्रो नभए पनि पाका मानिसहरूलाई भने गाह्रो हुन्छ। त्यसैले पाका मानिस हिटरमा, आगोमा वा घाममा बस्दा उठ्ने बेलामा गाह्रो हुन्छ। त्यसैले होस् पुगाएर उठ्नु पर्छ। त्यसैले मानिसले एक्कासी उठ्नु हुँदैन। केही बेर बसेर हातखुट्टाहरू चलाउनु पर्छ। उठ्दा केही समातेर उठ्नुपर्छ। रिंगटा लागे जस्तो भएमा तुरुन्त बस्ने वा सुतेको अवस्थामा जानुपर्छ।

तातोमा बसिरहेको मानिस एक्कासी उठेर कतै जाँदा बेहोस् हुने सम्भावना हुन्छ। हिटरमा बसेको भए एक छिन हिटरलाई अफ गर्नुपर्छ। हातखुट्टा चलाउनु पर्छ। त्यसो हुँदा रक्तसञ्चार शरीरका सबै भागमा पुग्छ। रगत सबै भागमा पुगेपछि उठ्दा गाह्रो हुँदैन।

तातो पानी वा साउनामा जाँदा पनि ध्यान दिनुपर्छ। तातोमा जाँदा ब्लड प्रेसर घट्छ। जाडोमा रगतको नली खुम्चिने हुन्छ र ब्लड प्रेसर बढ्छ। त्यसैले हामीले चिसोमा स्वास्थ्यमा अलि बढी ध्यान दिनुपर्छ। हामी न्यानो र चिसो दुई खाले वातावरणमा बस्नु पर्ने भएकाले स्वास्थ्य सावधानी अपनाउनुपर्छ।

प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार १२:४५   :  बजे

252
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।