Logo

समाचार

बढ्दो मातृ शिशु मृत्यु दरको जोखिमलाई कसरी कम गर्ने?



२०२० मा हरेक दिन करिब ८०० महिलाले गर्भावस्था र प्रसव सम्बन्धी समस्याबाट ज्यान गुमाउने गरेका थिए। २०२० मा लगभग हरेक दुई मिनेटमा एक महिलाले ज्यान गुमाउने गरेको तथ्याङ्कले देखाएको छ।

सन् २०२० मा करिब २ लाख ८७ हजार महिलाको गर्भावस्था र प्रसवपछि मृत्यु भएको थियो। २०२० मा सबै मातृ मृत्यु मध्ये लगभग ९५ प्रतिशत कम र निम्न मध्यम आय भएका देशहरूमा भएको विश्व स्वास्थ्य सङ्गठनको रिपोर्टले देखाएको छ।

पब्लिक हेल्थ कन्सर्न नेपालले नेपालमा मातृ मृत्युदर अध्ययन २०७८, (२०२१, २२) को प्रतिवेदन अनुसार एक वर्षमा ६२२ जनाएको ज्यान गएको देखाएको छ। प्रतिवेदनअनुसार सबैभन्दा बढी मातृ मृत्यु लुम्बिनी प्रदेशमा १ सय ५८, मधेस प्रदेशमा १ सय ३५, कोसी प्रदेशमा १ सय ११, बागमती प्रदेशमा ६९, सुदूरपश्चिम प्रदेशमा ६०, कर्णाली प्रदेशमा ५४ र गण्डकी प्रदेशमा ४५ जना रहेको छ। यो २५ नोभेम्बर, २०२१ अघिको तथ्याङ्क हो।

नेपालमा अझै पनि धेरै मातृ मृत्यु गर्भावस्थामा रगत बग्ने र उच्च रक्तचापको जटिलताका कारण हुने गरेको अध्ययनले देखाएको छ। अध्ययन प्रतिवेदनअनुसार कूल मातृ मृत्युमध्ये १ सय ९९ जनाको गर्भावस्थामा, ३६ जनाको सुत्केरी हुँदा र ३ सय ७६ जनाको सुत्केरीपछि मृत्यु भएको थियो।

स्वास्थ्य संस्थामा ३ सय ४६, गैर स्वास्थ्य संस्थामा २ सय ६५ र सामान्य सुत्केरी गर्दा २ सय ३० जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ। अध्ययन प्रतिवेदनमा सुत्केरी महिलालाई घरमै सुत्केरी गरेपछि ढिलो गरी स्वास्थ्य संस्थामा लैजाने गलत चलनका कारण मातृ मृत्युको सङ्ख्या बढी रहेको उल्लेख छ।

अध्ययन टोलीले मातृ स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न र आपत्कालीन यातायात व्यवस्थापनलाई सुदृढ गर्न स्वास्थ्य संस्थामा पठाउने संयन्त्र बनाउन सम्बन्धित निकायलाई सुझाव दिएको थियो। अझै पनि सुत्केरी महिलाको मृत्यु भइरहेका समाचार बेला-बेलामा आउने गरेका छन्।

यहीँ पुस २४ मा हुम्लाको ताजाकोट गाउँपालिकाकी ५, डोप्ककी २२ वर्षीया अन्सु बुढाको सुत्केरीपछि ज्यान गयो। ११ दिनपछि स्वास्थ्यमा समस्या देखिएपछि समयमा हवाई उद्धार नभएको र उपचारका लागि सुविधा सम्पन्न ठाउँमा लिन नसक्दा सुत्केरी बुढाको अकालमा ज्यान गएको स्वास्थ्यकर्मीले बताएका थिए।

अवस्था जटिल भए पनि सुत्केरी बुढाको समयमा उद्धार हुन सकेको थिएन। अवस्था जटिल हुँदा उपचारका लागि आएकी बुढालाई तत्काल रिफर गरिए पनि समयमा उद्धार गर्न नसक्दा उनको ज्यान गएको थियो।

मृत्युका कारणहरूमा बच्चा जन्मेपछि अधिक रक्तस्राव, बेथा लागेपछि अस्पताल पुग्न ढिलाइ, प्रसवपछि सङ्क्रमण, असुरक्षित गर्भपतन, गर्भावस्था र बच्चा जन्माउने क्रममा र पछि हुने जटिलताका कारण महिलाको मृत्यु हुने गरेको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियंका त्रिपाठी बताउँछिन्।

पहिलोपटक आमा बन्दै गर्दा बेथा लाग्ने समय भनेको ८ घण्टादेखि १२ घण्टासम्म हुन्छ। यो बेला पाठेघरको मुख बिस्तारै खुल्ने हुँदा समय लाग्ने गर्छ। दोस्रो वा तेस्रो पटकको प्रसूतिमा पाठेघरको मुख पहिलेको तुलनामा केही चाँडै खुल्ने गर्छ। दोस्रो वा तेस्रो पटक गर्भवती भएको अवस्थालाई मल्टी ग्राबिलिरा भनिन्छ। यो बेला ६ देखि आठ घण्टा बेथा लाग्ने गर्छ। यस्तो बेला सही समयमा अस्पताल पुर्‍याइएन भने बाटोमै गर्भवती भएर रगत अधिक रगत बग्दा ज्यान जान सक्ने जोखिम हुन्छ।

गाउँतिर स्थानीय स्वास्थ्य चौकीमा विशेषतः नर्सहरूले विशेष ध्यान दिनुपर्छ। उनीहरूलाई थाहा हुनुपर्छ कि कुन आमाहरू उच्च जोखिममा पर्छन्। जस्तै कुनै महिलालाई रगतको कमी भइरहेको हुन्छ, कुनैको बिपी बढिरहेको हुन्छ, कसैको बच्चा उल्टो बसेको हुन्छ। यस्ता जोखिम देखिएका महिलालाई बेलैमा अस्पताल लैजानुपर्छ।

महिलाको ज्यान कसरी बचाउन सकिन्छ?

मातृ मृत्युबाट बच्नको लागि अनिच्छित गर्भधारण रोक्नु पर्छ। किशोरीहरू सहित सबै महिलालाई गर्भनिरोधक साधनाको पहुँचमा पुर्‍याउनु पर्छ। सुरक्षित गर्भपतन सेवाहरू कानुन अनुसार अवलम्बन गर्नुपर्छ। महिलाहरूलाई गर्भावस्थामा, बच्चा जन्माउँदा र पछि उच्च गुणस्तरीय हेरचाह चाहिन्छ।

बच्चा जन्मिसकेपछि उच्च रक्तस्रावका कारण महिलाको स्वास्थ्यमा नकारात्मक असर पार्ने जोखिम हुन्छ। त्यसैले यस्तो बेलामा स्वास्थ्यको विशेष ध्यान दिनुपर्छ। प्रसव पछि तुरुन्तै अक्सिटोसिक्स इन्जेक्सनले प्रभावकारी रूपमा रक्तस्रावको जोखिम कम गर्छ। गर्भावस्थामा र बच्चा जन्मिसकेपछि स्वास्थ्यको राम्रो हेरचाह गर्दै सरसफाइमा ध्यान दिनुपर्छ।

प्रकाशित मिति : २९ पुष २०८०, आईतवार १२:२६   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।