हामी भन्ने गर्छौं नी बच्चा काचो माटो जस्तै हुन्। त्यो सत्य हो। हामीले बच्चालाई सानैदेखि जस्तो संस्कार दियौं उनीहरू त्यस्तै संस्कारमा हुर्कदै गर्छन्। र, भोली त्यस्तै सस्कार सिक्छन्। त्यसैले बच्चालाई सधैँ असल संस्कार दिनुपर्छ। बाल मनोभाव बुझेर काम गर्नुपर्छ।
मान्छे जन्मिँदा प्राय सबैको दिमाग एउटै हुन्छ। अपवादमा कसैलाई कुनै रोग लागेर जन्मियो भनेमात्र फरक कुरा हो। नत्र ब्रेनको साइज, फङ्सन, नसाहरू नर्मल नै हुन्छन्। हुर्किदै गर्दा फरक पर्ने हो। कस्तो परिवारमा तपाईं हुर्किदै गर्नु भएको छ भन्ने कुराले अर्थ राख्छ। यदि अध्यारोमा बसेर बच्चा हुर्किदै गरेको छ भने डार्कनेसको प्रभाव जीवनमा पर्ने गर्छ। उज्यालो र फराकिलो ठाउँमा बस्ने बच्चाको बौद्धिक विकास पनि फराकिलो हुने गर्छ।
बच्चाहरूलाई तेजिलो बनाउन ब्रेनको एक्सरराइज आवश्यक पर्छ। बच्चाहरूलाई अभिभावकले राम्रो गाइड गर्नुपर्छ। एक दुई पटक बच्चालाईमात्र पढ्न लगाउने गर्नु हुँदैन। त्यही कुरा आफूले पनि पढेर सुनाउनु पर्छ। त्यही कुरा दुई/तीन पटक लेख्न लगाउने गर्नुपर्छ। राम्रा खेलहरू खेल्न लगाउने, म्याथका हिसाव सिकाउने, पजलिङ्हरू दिएर बच्चाको दिमागको एक्सरसाइज गर्दा दिमाग तेजिलो हुँदै जान्छ।
अर्को कुरा बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागि पोषणयुक्त खानपान निकै महत्वपूर्ण हुन्छ। बच्चाको शरीर र दिमागलाई स्वस्थ राख्न प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिड एकदमै आवश्यक हुन्छ।
जंकफूड स्वास्थ्यको लागि राम्रो होइन। तर, बच्चाहरू मान्दै मान्दैनन्। बरगर र पिजा बच्चाहरू बढी रुचाउँछन्। त्यसको धेरै स्वास्थ्यलाई राम्रो गर्दैन। बच्चाहरूले चकलेट खान खोजिरहेका हुन्छन्। त्यो त स्वास्थ्यका लागि राम्रो हो। उनीहरू कुदिरहेका हुन्छन्। फलफूलको सेवन गराउनु पर्छ। नट्सहरू खुवाउनु पर्छ।
फलफूल र सागसब्जीको माध्यमबाट शरीरमा चाहिने आवश्यक प्रोटिन, भिटामिन, एन्टिअक्सिडेन्ट, फाइबर र पानीको परिपूर्ति हुन्छ। यसले शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्नुका साथै सम्भावित रोगबाट समेत बचाउँछ। त्यसैले खानेकुरामा फलफूल र सागपात समावेश गर्न सिकाउन आवश्यक छ। यसले बालबालिकामा ठूलो भइसकेपछि पनि स्वस्थ खानेकुरा खाने बानीको विकास गर्छ।
बच्चाको वृद्धि विकासका लागि अन्न अपरिहार्य खाद्यवस्तु हो। चामल, गहुँ, मकै, जौ र कोदो आदिजस्ता अन्नबाट बनेका विभिन्न खानेकुरा बच्चाको नियमित भोजनमा समावेश गर्नुपर्छ। यसले लामो समयसम्म ऊर्जा दिने र शारीरिक विकास छिटो हुने हुन्छ।
बच्चाको दिमागी विकासका लागि दूधजन्य खाद्यवस्तु एकदमै लाभदायी हुन्छन्। दहीले दिमागको कोषलाई लचिलो बनाउँछ, जसबाट दिमागले छिटो संकेत लिने र तत्काल प्रतिक्रिया जनाउने क्षमता बढाउँछ। यसमा प्रोटिन र क्याल्सियम प्रशस्त मात्रामा पाइने भएकाले हड्डी र दाँत बलियो बनाउँछ।
बच्चाहरूलाई प्रोटिनयुक्त खानेकुरा जस्तै, माछा, मासु, अन्डा, दाल तथा गेडागुडी नियमित खुवाउनुपर्छ। यसले मांसपेशी बलियो बनाउँछ। यस्ता खानेकुरामा भिटामिन, खनिज, ओमेगा ३ र फ्याटी एसिडजस्ता उपयोगी तत्व पाइन्छन्।
बच्चाहरूलाई डर/त्रास देखाउनु नै हुँदैन। बच्चाहरूलाई गाली गर्ने, तर्साउने गर्दा त्यसले सधैँका लागि नराम्रो असर गर्छ। त्यस्तो बच्चा फरक भएर जान्छ। बच्चाहरूलाई सम्झाउनु पर्छ। फकाउनु पर्छ। गाली गर्ने गर्नु हुँदैन।
(राष्ट्रिय ट्रमा सेन्टर, वरिष्ठ स्नायुरोग विशेषज्ञ प्रा. डा. राजीव झासँग गरिएको कुराकानीमा आधारित।)




















प्रतिक्रिया