Logo

अर्थ

राष्ट्र बैंकका सुपरीवेक्षण विभाग प्रमुख ढकाल भन्छन्- एनआईसी एशियाका विषयमा मैले प्रतिक्रिया दिएकै छैन, सबै हल्ला हुन्



काठमाडौं- नेपाल राष्ट्र बैंक, सुपरीवेक्षण विभागका प्रमुख देवकुमार ढकालले एनआईसी एशिया बैंकका विषयमा कुनै प्रतिक्रिया नदिएको बताएका छन् । उनले एनआईसी एशिया बैंकसँग आफ्नो नाम जोडेर आएको समाचारप्रति असन्तुष्टि जनाएका हुन्।

राष्ट्र बैंकको धारणा भन्दै  ढकालको तस्बिर राखेर ‘एनआईसीका मुख्य वित्तीय सूचक इन्ड्रष्ट्रीकै अब्बल’ भन्दै एक संचारमाध्यमबाट समाचार प्रकाशित भएको थियो ।

समाचार प्रकाशित भएलगत्तै एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेको आधिकारीक फेसबुक पेजबाट पनि राष्ट्र बैंकको आधिकारीक धारणा भन्दै उक्त समाचार सेयर भएपछि ढकालले आपत्ति जनाएका हुन् ।

उनले अनलाइनपानासँगको कुराकानीमा राष्ट्र बैंकले कुनै एक बैंकको विषयमा धारणा बनाउन नमिल्ने र आफूले पनि यस्तो नगरेको बताए । उनी भन्छन्,- ‘एआईसी एसिया बैंकका बारेमा हाम्रो धारणा हुँदैन। हाम्रो धारणा समग्र वित्तीय प्रणालीप्रतिको हुन्छ। कुनै समाचार देखेर यहाँले फोन गर्नु भएको होला। म आफैँ पनि त्यो समाचारबारे बुझ्न खोजिरहेको छु, त्यो मेरो धारणा होइन । र मैले जिम्मेवार पदमा बसेर त्यसरी हल्का टिप्पणी गर्न मिल्दैन ।’

ढकालले आपत्ति जनाएसँगै एनआईसी एशिया बैंकका सीईओ न्यौपानेको फेसबुक पेजबाट उक्त समाचार हटाइएको छ ।

एनआइसी एशिया बैंकका विषयमा पछिल्लो समय निरन्तर नकारात्मक समाचारका साथै टिप्पणीहरू सार्वजनिक हुन थालेपछि निक्षेपकर्ता अत्तालिन थालेछन्। जसका कारण बैंकबाट दिनहुँ १२ देखि १४ अर्ब रुपैयाँ निक्षेप बाहिरिन थालेको छ ।

बैंकको साउनमा ३११ अर्ब, भदौमा ३४७ अर्ब, असोजमा ३६४ अर्ब , कात्तिकमा ३७६ अर्ब, मंसिरमा ३८० अर्ब, पुसमा ३८१ अर्ब निक्षेप पुगेको थियो। तर, माघमा भने ३ खर्ब ६७ अर्ब ६८ करोड निक्षेप रहेको देखिन्छ।

यसरी हेर्दा पुषसम्म यस बैंकमा बचत गर्ने बढीरहेका थिए। तर, माघमा भने निक्षेप राख्ने भन्दा पनि पहिले आफूले राखेको निक्षेप निकाल्न थालेको देखिन्छ। निक्षेपकर्ताले एक महिनामै १४ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप निकालेका छन्। चालू आवको ७ महिने अवधिमा पहिलो पटक एनआईसी एसियाको निक्षेप यती धेरै घटेको हो।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि एनआईसी बैंकका बारेमा विभिन्न खाले अभिव्यक्ति दिइरहेका छ्न्। आजमात्रै उनले पत्रकार सम्मेलन गरेर सुनसरीबाट २८ माघमा बरामद भएको झण्डै २ करोड नेपाली नक्कली नोटमा एनआईसी एसिया बैंकको ट्याग रहेको दाबी गरेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार १६:०४   :  बजे

6.8K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।