Logo

अर्थ

२० वर्षदेखि एक्लै इन्द्र ट्राभल एण्ड टुर हाँकिरहेकी सबला



काठमाडौं- महिलाहरूले स्वतन्त्र रूपमा अगाडि बढ्न सामाजिक पूर्वाग्रहलाई बेवास्ता गर्न आवश्यक छ। सामाजिक पूर्वाग्रहमा रुमलिने हो भने जीवन कहीँ पुग्न सक्दैन। संघर्ष र निरभिक यात्राले गन्तव्यमा पुर्‍याउँछ। यी र यस्ता चुनौतीको प्रवाह नगरी सफलताको उडान भरिरहेकी पात्र हुन् व्यवसायी सबला भण्डारी। उनी इन्द्र ट्राभल एण्ड टुर प्राइभेट लिमिटेडकी सञ्चालिका हुन्।

नेपालको सन्दर्भमा महिलालाई समाजका विभिन्न परिधि तोडेर सफल व्यवसायी हुन सजिलो छैन। उनी त झनै एकल महिला। एकल महिलालाई यो समाजमा संघर्ष गर्न थप चुनौती छ। हाम्रो सामाजिक मान्यता महिलालाई पुरुषको साथ आवश्यक छ भन्ने छ। यतिसम्मकी पुरुषको साथ नभएको महिलालाई समाजले हेर्ने दृष्टिकोण नै फरक हुन्छ। हाम्रो समाजमा अझै पनि महिलाको अस्तित्व वैवाहिक स्थितिसँग जोडिन्छ।

सबला ललितपुरको कुपण्डोलमा वि.सं. २०३० मंसिर २८ गते जन्मेकी हुन्। परिवारकी साइली सन्तान हुन् उनी। सबलाका बुबा सरकारी जागिरे र आमा गृहिणी थिइन्। पुलचोकको मदन स्मृति स्कुलबाट उनले प्रारम्भिक शिक्षा सुरु गरिन्।

बुबा विभिन्न जिल्लामा सरुवा भएर जाने हुँदा उनको पढाई एउटै विद्यालयमा हुन सकेन। उनले वि.सं. २०४७ सालमा आदर्श माध्यमिक विद्यालय सिराहाबाट एसएलसी पास गरिन्। वि.सं. २०५१ सालमा पाटन कलेजबाट आइए पास गरिन्। पाटन कलेजबाट नै उनले अर्थशात्रमा स्नातक सकिन्। वि.सं. २०५० सालमा पुतलीसडक घर भएका निर्मल भण्डारीसँग सबलाको विवाह भयो।

रमा श्रीमान् बेहोस थिए। श्रीमान‍्लाई अस्पताल पुर्‍याइयो। हृदयाघातका कारण श्रीमान‍्ले बाटोमै प्राण त्यागिसकेका थिए। यसरी विवाह गरेको १० वर्षमै उनको सिउँदो पुछियो।

२० वर्षकै उमेरमा उनी परिणय सूत्रमा बाँधिएकी थिइन्। उनका श्रीमान‍्ले इन्द्र ट्राभल एण्ड टुर प्राइभेट लिमिटेका सञ्चालक थिए। विवाहपछि सबलाले स्नातकोत्तरतह अध्ययन गरिन्। सोहीबीचमा उनले छोरीलाई जन्म दिइन्। छोरी हुर्कँदै गर्दा सबलाले पुलचोकमा रेडिमेट कपडाको व्यवसाय सुरु गरिन्। व्यवसाय सञ्चालन गरेको तीन वर्ष पुगेको थियो। उनको जीवनमा कल्पना नै नगरेको बज्र प्रहार भयो। जसले गर्दा उनले राम्रोसँग चलिरहेको व्यवसाय बन्द गर्नुपर्‍यो।

शनिबारको दिन थियो। बिहान खाना पकाएर उनी बल्खुस्थित दिदीको घर गएकी थिइन्। केही बेरमा घरबाट उनकी भान्जीको फोन आयो। उक्त फोनले सबलाको मन आत्तियो। हतारिँदै उनी घर पुगिन्। घरमा श्रीमान् बेहोस थिए। श्रीमान‍्लाई अस्पताल पुर्‍याइयो। हृदयाघातका कारण श्रीमान‍्ले बाटोमै प्राण त्यागिसकेका थिए। यसरी विवाह गरेको १० वर्षमै उनको सिउँदो पुछियो। सोही कारण उनले कपडा पसल बन्द गर्नुपर्‍यो।

खाउखाउ लाउलाउ भन्ने उमेरमै श्रीमान‍्को निधन हुँदा उनी गहिरो शोकमा परिन्। सधैँ त्यसरी नै जीवन पनि त चल्दैन। बिस्तारै उनी शोकलाई शक्तिमा बदल्न थालिन्। र, श्रीमान‍्ले सञ्चालन गरेको इन्द्र ट्राभल एण्ड टुर प्राइभेट लिमिटेलाई अगाडि बढाउन थालिन्।

अहिले पनि उनले सोही व्यवसायलाई अगाडि बढाइरहेकी छन्। समाजका विभिन्न मूल्य र मान्यता हुने भएकाले सबैसँग संघर्ष गर्दै अगाडि बढ्नुपर्छ भन्ने उनलाई लाग्छ।

‘समाजमा विभिन्न मूल्य र मान्यता छन्। जसलाई हामीले अपनाउनु पर्छ। सामाजिक मूल्य र मान्यतालाई नमान्दा समाजले फरक ढंगले हेर्छ। श्रीमान‍्को मृत्युपछि रातो लगाउन नहुने मान्यता रहेकोमा मैले भने रातो लुगा लगाउँदै आएकी छु। परिवारले पनि मलाई यस्तो लगाऊ त्यस्तो लगाऊ भनेर दबाब दिँदैन,’ उनले भनिन्। एकल महिला हुँदा समाजका पुरुषले लगाउने गिद्धे दृष्टिका तिता अनुभव पनि उनीसँग छन्। अनेक स्वार्थले कतिपय पुरुषहरूले आफूलाई फलो गरिरहेको नमिठो अनुभवको साक्षी पनि उनको हृदय छ।

उनले कम्पनी चलाउन त्यहाँ कार्यरत कर्मचारी खुसी हुनुपर्छ भन्ने बुझेकी छन्। त्यसैले उनी आफ्नो कम्पनीमा काम गर्ने कर्मचारीहरूसँग पारिवारिक व्यवहार गर्छिन्।

तर, सबलालाई जीवन सफल तुल्याउनु थियो। एक्लै बलियो बनेर हिँड्नु थियो। त्यसैले कसैका कुनै कुरा र व्यवहारले फरक परेर सबलाको जीवनमा। दैवले दिएको ठूलो चोट सामल मान्छेका खराब नियति फिक्का लाग्थे उनलाई। जसलाई परास्त गर्न सक्ने बलियो हृदय बनिसकेको थियो सबलासँग।

१९९४ मा इन्द्र ट्राभल एण्ड टुर प्राइभेट लिमिटेड उनका श्रीमान‍्ले सञ्चालन गरेका हुन्। बाहिरबाट नेपाल घुम्न आउने मानिसलाई टिकेटिङको व्यवस्था गरी एयरपोर्टबाट ल्याउने लैजाने काम उनको ट्राभलले गर्दै आएको छ। सोही ट्राभललाई २००४ देखि सबलाले सम्हाल्दै आएकी छन्।

उनी पारिवारिक रूपमा सबल छिन्। तर, पनि काम गरेर देशका लागि सकेको योगदान पुर्‍याउनुपर्छ भन्ने उनलाई लाग्छ। त्यसैले सफल उद्यमशीलता उनको पहिलो प्राथमिकता हो।

उनले कम्पनी चलाउन त्यहाँ कार्यरत कर्मचारी खुसी हुनुपर्छ भन्ने बुझेकी छन्। त्यसैले उनी आफ्नो कम्पनीमा काम गर्ने कर्मचारीहरूसँग पारिवारिक व्यवहार गर्छिन्। कहिलेकाहीँ काम गर्दा गल्ती हुँदा सम्झाइ बुझाइ गर्ने गर्छिन्। कर्मचारीहरूलाई प्रेरित गरेर काम गरिरहेकी हुन्छन्।

निरन्तरताको इमानदार प्रयासबाट सबला मासिक ३ देखि ७ लाखसम्म आम्दानी गर्ने गरेकी छन्। उनले आगामी दिनमा पनि यही व्यवसायलाई निरन्तरता दिने बताएकी छन्।

सबला आँखा अस्पताल र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सीमा आबद्ध छिन्। आँखा अस्पतालमा उनी समाज सेवा गर्दै आइरहेकी छन्।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार ०९:२८   :  बजे

327
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।